धनुषा । धनुषामा पारिवारिक विवादका कारण एक दम्पतीको ज्यान गएको छ । घटनामा श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ भने हत्याका आरोपित श्रीमान् मृत अवस्थामा फेला परेका छन् । साथै, घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् ।
धनुषाको मिथिला बिहारी नगरपालिका ३ मिथिलेश्वर मौवाहीस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिना यादवको शनिबार राति हत्या भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गणेशमान चारनाथ नगरपालिका ४ भरतपुर निवासी ३५ वर्षीय उमेश यादवले आफ्नै श्रीमती रिनामाथि धारिलो हतियार प्रहार गरेका थिए । उमेश मृतक रिनाका श्रीमान् हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उमेश शनिबार राति करिब ९ बजे ससुराली पुगेका थिए । त्यसको केही घण्टापछि आइतबार बिहान १:५० बजेतिर रिनाको घाँटीमा धारिलो हतियार प्रहार भएको सूचना प्रहरीले प्राप्त गरेको थियो ।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय धनुषाधामबाट इन्स्पेक्टर राजेश कुमार शर्माको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा रिनाको घाँटीमा गम्भीर चोट लागेको र उनको मृत्यु भइसकेको पाइएको थियो ।
चार वर्षीय छोरा घाइते, अवस्था सामान्य
घटनाका बेला आमाबुवासँगै सुतेका चार वर्षीय छोरा सम्राट यादवसमेत घाइते भएका छन् । बालकको दाहिने तिघ्रामा धारिलो हतियारले काटेको चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते बालकलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । प्रहरीका अनुसार बालकको अवस्था अहिले सामान्य छ ।
खोजीका क्रममा श्रीमान् पनि मृत फेला
श्रीमतीको हत्यापछि फरार भएका उमेशको खोजी गर्ने क्रममा प्रहरीले दु:खद तथ्य पत्ता लगायो । घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम, मिथिला बिहारी नगरपालिका २ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा उमेशको शव फेला परेको हो ।
घटनास्थलबाट रगतले लतपतिएको चक्कुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । मृतक रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
डेढ वर्षदेखि सम्बन्धमा तनाव
प्रहरीका अनुसार उमेश करिब डेढ वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएपछि दम्पतीबीच पटक–पटक विवाद तथा झैझगडा हुने गरेको थियो । यद्यपि, यस घटनाको तत्कालीन कारण र परिस्थितिबारे हालसम्म यकिन भइसकेको छैन ।
श्रीमतीको हत्या र त्यसपछि श्रीमान् मृत फेला परेको यस घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धान अघि बढाएको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले विभिन्न पक्षलाई समेटेर अनुसन्धान गरिरहेको छ ।




