काठमाडौं । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बलिदानी दिवसका अवसरमा जनकपुरस्थित जानकी मन्दिर परिसरमा भव्य दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । शहीदहरूको सम्झनामा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै १ लाख दीप प्रज्वलन गरिएको हो ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले शहीदहरूको बलिदानको सम्मानस्वरूप यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले बलिदानी दिवसले मधेशको इतिहास र बलिदानको गहिरो महत्व झल्काउने बताउँदै शहीदहरूको योगदानलाई कृतज्ञतापूर्वक स्मरण गरिने बताए ।
दीप प्रज्वलन कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सांसद, विभिन्न निकायका पदाधिकारी, सञ्चारकर्मी, युवा र जनकपुरवासीको उल्लेख्य उपस्थिति रहेको थियो । यस कार्यक्रममा जनकपुरको सांस्कृतिक महत्त्वलाई उजागर गर्ने र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्य रहेको बताइएको छ ।




