एजेन्सी । इटालीका मार्सेल ज्याकोब्स विश्वकै सबैभन्दा तेज धावक बनेका छन् । टोकियो ओलम्पिक अन्तर्गत आइतबार भएको एथ्लेटिक्सको पुरुष १०० मिटर दौडमा मार्सेलले स्वर्ण पदक जितेका हुन् ।
यसअघिका लगातार तीन वटा ओलम्पिकमा जमैकाका उसेन बोल्टले स्वर्णपदक जितेका थिए । उनले गत रियो ओलम्पिकपछि सन्यास लिएका थिए । बोल्टको नाममा ९.५८ सेकेन्डसहित विश्व कीर्तिमान र ९.६३ सेकेन्डसहित ओलम्पिक कीर्तिमान रहेको छ ।
आइतबार भएको फाइनलमा मार्सेलले ९.८ सेकेन्डसहित स्वर्णपदक जितेका हुन् । ९.८४ सेकेन्डमा दूरी पूरा गरेका अमेरिकाका फ्रेड केर्लीले रजत पदक र ९.८९ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका क्यानडाका आन्द्रे डे ग्रासेले कास्य पदक जिते ।
हाल विश्व वरियतामा दोस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाका अकानी सिम्बाइन भने चौथो स्थानमा रहे । हाल विश्व वरियतामा पहिलो स्थानमा रहेका अमेरिकी जस्टिन ग्याट्लिन भने टोकियो ओलिम्पिकमा सहभागि थिएनन् ।






