काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७९ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।
चीनले हालसम्म ३६ स्वर्ण, २६ रजत र १७ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले ३१ स्वर्ण, ३६ रजत र ३१ कास्य पदक प्राप्त गरेको छ भने जापानले २४ स्वर्ण, ११ रजत र १६ कास्य प्राप्त गर्न सफल भएको छ ।
यस्तै बेलायत १८ स्वर्ण, २० रजत र २० कास्य पदक प्राप्त गर्दै चौथो स्थानमा रहेको छ । यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौं स्थानमा रहेको छ । उसले १७ स्वर्ण, २३ रजत र २२ कास्य पदक प्राप्त गरेको छ ।
अस्ट्रेलिया १७ स्वर्ण, ६ रजत र २१ कास्य पदकसहित छैटौँ स्थानमा छ । इटली १० स्वर्ण, १० रजत र १८ कास्यसहित सातौँ, जर्मनी ९ स्वर्ण, ११ रजत र १६ कास्यसहित आठौँँ, नेदरल्याण्डस् ९ स्वर्ण, १० रजत र १२ कास्य जित्दै नवौँ तथा फ्रान्स ७ स्वर्ण, ११ रजत र ९ कास्यका साथ १० औँ स्थानमा रहेको छ ।
टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८९ देशले पदक प्राप्त गर्न सफल भएको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए ।
सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ–आफ्नो खेलमा प्रतिस्पर्धा गर्नुभएको थियो । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिनुभएको छ ।






