एजेन्सी । भारतको कर्नाटक राज्यको कोडगु जिल्लामा एउटा अत्यन्तै चकित बनाउने घटना सार्वजनिक भएको छ, जसले प्रहरी अनुसन्धान प्रणालीमै गम्भीर प्रश्न उठाएको छ । एक आदिवासी मजदुर सुरेश दुई वर्षसम्म पत्नीको हत्या आरोपमा जेलमा थुनिए तर हालै ती पत्नी जीवितै भेटिएको खुलासा भएपछि घटनाले नयाँ मोड लिएको छ ।
हराइरहेकी पत्नी, झूटो आरोप
३५ वर्षीय सुरेश बसवनहल्ली, कुशलनगरका बासिन्दा हुन् । उनले नोभेम्बर २०२० मा आफ्नी पत्नी मल्लिगे हराएको भनी स्थानीय प्रहरी चौकीमा उजुरी दिएका थिए । केही महिनापछि, जून २०२१ मा बेट्टाडपुरा इलाकामा प्रहरीले एक अज्ञात महिलाको कंकाल फेला पार्यो । त्यस स्थानमा भेटिएका साडी, चप्पल र भित्री वस्त्रको आधारमा प्रहरीले अनुमान गर्यो कि ती शव मल्लिगेकी हुन सक्छिन् ।
प्रहरीले सुरेशलाई हत्यामा संलग्न ठहर गर्दै गिरफ्तार गर्यो । आरोप अनुसार, प्रहरीले सुरेश र उनकी सासूलाई मृतक मल्लिगे भएको स्वीकृति दिन दबाब दिएको थियो । सुरेशले प्रहरीको दबाबमा जबरजस्ती हस्ताक्षर गराएको दाबी गरेका छन् ।
निर्दोष ठहर, तर ढिलो न्याय
सुरेशको परिवारले उनको रिहाइका लागि धेरै प्रयास गर्यो । अन्तत: जनवरी २०२२ मा अधिवक्ता बीएस पाण्डु पुजारी नि:शुल्क रूपमा केस लड्न तयार भए । उनले अदालतसँग कंकाल र मल्लिगेकी आमाको डीएनए परीक्षणको माग गरे ।
सन् २०२३ मा प्राप्त डीएनए परीक्षणको नतिजाले कंकाल मल्लिगेकी नभएको पुष्टि गर्यो । तर धरौटी रकम एक लाख भारु तिर्न नसकेकाले सुरेशले अझ एक वर्ष जेलमा बिताउनुपर्यो । सेप्टेम्बर २०२४ मा मात्र उनी जेलमुक्त भए ।
पत्नी जीवित भेटिँदा फेरियो घटनाको रुप
रिहा भएपछि सुरेशले मल्लिगेको खोजीका लागि प्रहरीलाई पटक पटक आग्रह गरे । तर सहयोग नपाउँदा उनी निराश थिए । अप्रिल १, २०२५ मा उनको जीवन फेरि एक पटक उल्टियो, जब उनका साथीहरूले मल्लिगेलाई मदिकेरीको होटलमा एक पुरुषसँग कफी खाँदै गरेको देखे । भिडियो सुरेशलाई पठाइयो र त्यसपछि प्रहरीले मल्लिगे जिवित भएको पुष्टि गर्यो ।
अनुसन्धान अनुसार, मल्लिगे नोभेम्बर २०२० देखि विराजपेट नजिकको टी शेट्टीगेरी गाउँमा आफ्नै प्रेमीसँग लुकेर बसिरहेकी थिइन्, जुन सुरेशको घरबाट करिब ३० किलोमिटरको दूरीमा पर्छ ।
अदालतको हस्तक्षेप
मल्लिगेलाई अदालतमा पेस गरिएको छ, जहाँ उनले बताइन् कि उनी आफ्नै इच्छाले प्रेमीसँग बस्न गएकी थिइन् र सुरेशलाई गिरफ्तारी भएको थाहा थिएन । अदालतले कर्नाटक प्रहरीका उच्च अधिकारीहरूलाई अप्रिल १७ भित्र जवाफ दिन आदेश दिएको छ ।
अधिवक्ता पुजारीले प्रश्न उठाएका छन्- “यदि मल्लिगे जीवित छन् भने, कंकाल कसको थियो ?” उनले प्रहरीमाथि झूटो आरोपमा निर्दोषलाई फसाएको र मृतकको पहिचान नगरेको गम्भीर लापरवाही गरेको आरोप लगाएका छन् ।
सुरेशको कथा केवल एक व्यक्तिको पीडा होइन- यो कथा हो, न्याय प्रणाली, प्रहरी अनुसन्धान र सामाजिक पूर्वाग्रहहरूको त्रुटिपूर्ण स्वरूपको । मल्लिगेको पुनरागमनले सुरेशको निर्दोषिताको प्रमाण त दियो, तर अब प्रश्न उठ्छ- दुई वर्षको जीवन गुमाएको सुरेशलाई न्याय कसरी दिइन्छ ? र, बेपहिचान शवको सत्य के हो ? यो घटना सम्पूर्ण अनुसन्धान प्रक्रियाको पुनरावलोकनको माग गर्छ ।






