काठमाडौं । नेपाली मुलकी अस्मिता आले मगर इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्धित भएकी छिन् । टोटेनहमले १९ वर्षीय डिफेन्डर अस्मितालाई शुक्रबार एस्टन भिल्लाबाट दुई वर्षको लागि अनुबन्ध गरेको जनाएको छ ।
उनले टोटेनहममा १३ नम्बरको जर्सी लगाउनेछन् । अस्मिता गत सिजन एस्टन भिल्लाको उत्कृष्ट खेलाडी घोषित हुँदै ‘प्लेयर अफ द सिजन’ चुनिएकी हुन् । अस्मिताले गत सिजनको वुमन्स सुपर लिगमा १८ खेल खेलेकी थिइन् ।
इंग्ल्यान्डको यू-१९ टिमकी सदस्य समेत रहेकी अस्मिताले एस्टन भिल्लाको उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेपछि क्लबले व्यवसायिक सम्झौता गरेपछि २०१८ मा एस्टनको सिनियर टिममा डेब्यु गरेकी थिइन् ।
अस्मिताले २०१७/१८ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबका खेलाडी, व्यवस्थापन र समर्थकलाई प्रभावित पारेकी थिइन् ।अस्मिता ८ वर्षको उमेरमा क्लबको एकेडेमीमा आबद्ध भएकी थिइन् ।
लामो समयदेखि इंग्ल्याण्डमा बसोबास गर्दै आइरहेकी अस्मिताका बुवा अमृत आले पूर्व गोरखा सैनिक हुन् । तनहुँका अमृत स्क्वासको राष्ट्रिय खेलाडी हुन् । अमृत आठौं दक्षिण एसियाली खेलकुद ९साग० टिमको बन्द प्रशिक्षण पनि रहेका थिए ।






