काठमाडौं । टीम इन्डियाका पूर्व स्टार ओपनिङ ब्याट्सम्यान शिखर धवनको लोकप्रियता अझै कम भएको छैन । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि पनि उनी प्रशंसकहरूबीच उत्तिकै चर्चित छन् ।
यद्यपि, हाल उनी क्रिकेट होइन, आफ्नै व्यक्तिगत जीवनका कारण चर्चामा छन् । सन् २०२३ मा आयशा मुखर्जीसँग सम्बन्धविच्छेदपछि धवन एक्लै बस्दै आएका थिए । यस अवधिमा उनका विभिन्न महिलासँगको प्रेम सम्बन्धको हल्ला चले पनि ती सबै अफवाह मात्र साबित भए ।
तर, अब भने उनले आफ्ना प्रेम सम्बन्धको पुष्टि गरेका छन् । शिखर धवनको नयाँ प्रेमिका हुन्, सोफी शाइन । उनले हालै इन्स्टाग्राममा सोफीसँगको तस्बिर पोस्ट गर्दै क्याप्शनमा लेखेका छन्- ‘मेरी ❤️’।
यो धवन र सोफी शाइनसँगै देखिएको पहिलो पटक भने होइन । यसअघि पनि उनीहरू विभिन्न अवसरहरूमा सँगै देखिँदै आएका थिए, तर सम्बन्ध बारे सार्वजनिक रूपमा केही बताएका थिएनन् । अहिले भने धवनले खुलेर प्रेम स्वीकार गरेका छन् ।
सोफी शाइनको परिचय
सोफी शाइन आयरल्यान्डमा जन्मिएकी हुन् । उनले लाइमरिक इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मार्केटिङ र व्यवस्थापनमा डिग्री हासिल गरेकी छिन् । हाल उनी अबुधाबीस्थित नर्दन ट्रस्ट कर्पोरेशन**मा महत्वपूर्ण जिम्मेवारीमा कार्यरत छिन् ।
धवन र सोफीको प्रेमकथा कसरी सुरु भयो भन्नेबारेमा अझै स्पष्ट जानकारी बाहिर आएको छैन । तर सामाजिक सञ्जालमा यी दुईको जोडीले निकै चर्चा बटुलिरहेको छ ।
फ्यानहरूले तस्बिरहरूमा धेरै प्रतिक्रिया जनाइरहेका छन् र जोडीलाई शुभकामना दिइरहेका छन् । शिखर धवनको नयाँ सुरुवातसँगै उनको व्यक्तिगत जीवनले फेरि नयाँ मोड लिएको देखिन्छ ।






