एजेन्सी । भारत र पाकिस्तानबीच जारी सीमा तनाव चुलिँदै जाँदा, भारतीय प्रिमियर लिग (आईपीएल) २०२५ अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय मिडियाहरूका अनुसार, बिहीबार धर्मशालामा तय भएको खेल रद्द भएपछि क्रिकेट अधिकारीहरूले प्रतियोगिता तत्काल स्थगन गर्ने निर्णय लिएका हुन् ।
धर्मशाला मैदान जम्मू सहरबाट करिब २०० किलोमिटरको दूरीमा पर्छ, जहाँ केही घण्टाअघि मात्रै शक्तिशाली विस्फोट भएको थियो । उक्त घटनाले सुरक्षा चासो थप उकासेपछि आयोजकले प्रतियोगिता रोक्ने घोषणा गरेका हुन् ।
पाँच पटकको च्याम्पियन चेन्नई सुपर किङ्ग्सले एक्समार्फत पोस्ट गर्दै लेखेको छ, “प्रत्येक कदममा साहस, प्रत्येक धड्कनमा गर्व । हाम्रा सशस्त्र सेनाहरू प्रति उच्च सम्मान ।” सो पोस्टमा “राष्ट्र पहिले, अन्य सबै कुरा पछि” भन्ने सन्देशसहित भारतीय सेनाको तस्वीर पनि ट्याग गरिएको छ ।
दश टोली सहभागी प्रतियोगिता यस वर्ष मार्च २२ बाट सुरु भएको थियो । विश्वभरका क्रिकेट स्टारहरूको सहभागीता रहने आईपीएललाई क्रिकेटकै सबैभन्दा समृद्ध प्रतियोगिता मानिन्छ ।
शुक्रबार लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्ग्लुरुकाे सामना गर्ने तालिका थियो भने मे २५ मा कोलकाताको इडेन गार्डेन्समा फाइनल खेल हुने तय गरिएको थियो ।
प्रतियोगिता स्थगित हुँदा लाखौँ दर्शक प्रभावित भएका छन्, किनभने आईपीएल विश्वभर अत्यधिक टेलिभिजन दर्शक संख्या बटुल्ने खेलकूद महोत्सवका रूपमा लिइन्छ ।
आईपीएलमा अस्ट्रेलियाका स्टार खेलाडीहरू प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलवुड, ट्राभिस हेड र मिच मार्शसहितका विदेशी खेलाडीहरूको उल्लेखनीय उपस्थिती छ । त्यस्तै, पञ्जाब टिमको प्रशिक्षकमा पूर्व अस्ट्रेलियाली कप्तान रिकी पोन्टिङ रहेका छन् ।
क्रिकेट अस्ट्रेलियाले प्रतियोगिता स्थगनको खबर सार्वजनिक हुनुअघि एक विज्ञप्ति जारी गर्दै भनेको थियो, “हामी भारत र पाकिस्तानबीचको परिस्थितिलाई गम्भीर रूपमा नियालिरहेका छौँ र हाल भारतमा रहेका हाम्रा खेलाडी तथा सहायक कर्मचारीहरूसँग निरन्तर सम्पर्कमा छौँ ।”
यसैबीच, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सुरक्षा चिन्ताका कारण आफ्नो घरेलु टी-२० लिगका बाँकी खेलहरू युएईमा सार्ने निर्णय पहिले नै गरिसकेको छ । भारत र पाकिस्तानबीचको सम्बन्ध लामो समयदेखि तनावग्रस्त रहँदै आएको छ ।
सन् १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेपछि दुबैले तीन पटक युद्ध लडेका छन्, जसमा दुई युद्ध काश्मीर विवादलाई लिएर भएका थिए । काश्मीरलाई दुवै देशले आफ्नो अभिन्न हिस्सा मानेका छन्, यद्यपि हाल त्यो क्षेत्र दुबै देशद्वारा छुट्टाछुट्टै शासित छ ।
दुई साताअघि भारत-नियन्त्रित काश्मीरमा भएको एक घातक आक्रमणपछि भारतले बुधबार बिहान पाकिस्तानतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो । भारतले उक्त आक्रमणको दोष पाकिस्तानलाई दिएको छ भने इस्लामाबादले आफ्नो संलग्नता पूर्ण रूपमा अस्वीकार गरेको छ ।
सीमा क्षेत्रमा बढ्दो तनावका बीच बुधबारदेखि हालसम्म दुवै पक्षका गरी कम्तीमा ४८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विश्लेषकहरूका अनुसार, यो दशकौँयताकै सबैभन्दा गम्भीर द्वन्द्व हो, जसले सम्पूर्ण दक्षिण एसियाको स्थायित्वमा प्रश्न उठाएको छ ।






