काठमाडौं । जापानको राजधानी टोकियोमा आयोजित ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता आइतबार सफलतापूवर्क सम्पन्न भएकाे छ । प्रतियाेगीतामा दक्षिण एशियाका ६ देश पदकविहिन भएर फर्किएका छन् ।
कूल २०५ देशका ११ हजार ३०० खेलाडीले भाग लिएकाे टोकियो ओलम्पिकमा खेलाडीले कूल ३३ खेलमा ३४० स्वर्ण, ३३८ रजत तथा ४०२ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । ६५ देशले मात्र स्वर्ण पदक चुम्न पाए ।
टोकियो ओलम्पिकमा अमेरिका ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भयो भने चीन ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित दोस्रो तथा आयोजक जापान २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित तेस्रो स्थानमा रहन पुग्यो ।
यसैगरी पदक तालिकामा बेलायत २२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, रसियन ओलम्पिक कमिटी २० स्वर्ण, २८ रजत र २३ कास्यसहित पाँचौँ, अस्ट्रेलिया १७ स्वर्ण, सात रजत र २२ कास्यका साथ छैटौँ, नेदरल्याण्डस् १० स्वर्ण, १२ रजत र १४ कास्यसहित सातौँ, फ्रान्स १० स्वर्ण, १२ रजत र ११ कास्यसहित आठौँ, जर्मनी १० स्वर्ण, ११ रजत र १६ कास्यका साथ नवौँ तथा इटली १० स्वर्ण, १० रजत र २० कास्यपदकका साथ १०औँ स्थानमा रहे।
दक्षिण एशियाली मुलुकमध्ये भारतले एक स्वर्ण, दुई रजत तथा चार वटा कास्य पदक जित्यो । ९३ देश पदक जित्न सफल रहे भने नेपालसहित ११२ देश पदकविहीन बन्न पुगे । टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरे । पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाए ।
जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीको प्रदर्शन भने सामान्य रह्यो । एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिइन् । जुडोकी सोनिया भट्ट पहिलो चरणमै रसियन खेलाडीसँग पराजित भइन्।
यही साउन ८ गतेदेखि शुरु भएको टोकियो ओलम्पिक १९ दिनसम्म सञ्चालन भएको थियो । सन् १९६४ मा पहिलो पटक ओलम्पिक आयोजना गरेको जापानले ५७ वर्षपछि पुनः ओलम्पिक आयोजना गरेको हो । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो ।
विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिक प्रत्येक चार-चार वर्षमा हुँदै आएकामा यस वर्ष पाँच वर्षमा आयोजना भएको हो ।
अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ।






