काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा चर्चित लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौताबाट बाहिरिने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफू क्यानको केन्द्रीय सम्झौतामा नरहने निर्णय लिएको घोषणा गरेका हुन् ।
फेसबुकमा लेख्दै उनले यो निर्णय कुनै पनि हालतमा क्रिकेट वा राष्ट्रबाट टाढा हुने मनसाय नभएको स्पष्ट पारेका छन् । उनले यो कदम व्यक्तिगत र पेशागत विकासतर्फ उन्मुख रहेको उल्लेख गरेका छन् ।
लामिछानेले क्यानले आफ्नो करिअर र नेपाली क्रिकेटको विकासमा खेलेको भूमिकाको कदर गर्दै आफूले सधैं नेपालको क्रिकेट प्रति निष्ठा र समर्पण देखाइरहने बताएका छन् ।
“यो विदाई होइन, नयाँ अध्यायको सुरुवात हो”
उनको निर्णय प्रति सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ । कतिपयले उनको निर्णयलाई परिपक्वता र साहसको रुपमा व्याख्या गरेका छन् भने केहीले आलोचना पनि गरेका छन् ।
समर्थकका भावना:
हेमन्त बोहरा लेख्छन्, “यो कुनै विदाई होइन, नयाँ अध्यायको सुरुवात हो । तपाईंले देखाएको साहस, इमानदारी र राष्ट्रप्रेम सधैं प्रेरणादायी हुनेछ ।” रत्न पौडेल भन्छन्, “खेलाडीका आफ्नै व्यक्तिगत र व्यवसायिक संघर्ष हुन्छन्, त्यसलाई सम्मान गर्नुपर्छ ।”
क्षेत्री गणेशको भनाइ छ, “तपाईंको निर्णय परिपक्वताको प्रतिक हो । तपाईंले नेपाली क्रिकेटलाई दिएको योगदान अमूल्य छ ।” तर, बिमल मरहट्टा जस्ता केही व्यक्तिहरूले यो निर्णयले भविष्यमा सन्दीप कुनै अर्को राष्ट्रतर्फ उन्मुख हुने सम्भावनाको संकेत गर्न सक्ने टिप्पणी गरेका छन् ।
रामेश बस्नेत लेख्छन्, “देशले तपाईंलाई अवसर दिएको हो, जब देश संकटमा छ, तब देशलाई साथ दिनु नै नैतिक कर्तव्य हो ।” कुनै “Choking Deer” नामक प्रयोगकर्ताले भने सन्दीपलाई ‘ओभररेटेड’ खेलाडी भन्दै उनको निर्णय प्रति व्यङ्ग्य गरेका छन् ।
अर्का एक प्रयोगकर्ता “Go Wind Go” ले भने सन्दीपलाई विदेशी टोलीमा गएर खेल्न सुझाव दिएका छन्, “जहाँ गएर पनि खेल्नुहोस्, हामीलाई तपाईंको सफलता देखेर खुसी लाग्नेछ ।”
यसअघि सन्दीप लामिछाने क्यानसँगको केन्द्रीय सम्झौतामा ‘क्याटेगोरी ए’ अन्तर्गत अनुबन्धित थिए । बलात्कार सम्बन्धी मुद्दामा मुछिएपछि उनको राष्ट्रिय टोलीमा स्थान केही समयका लागि निलम्बित गरिएको थियो, यद्यपि अदालतबाट सफाइ पाएपछि उनी फेरि टिममा फर्किएका थिए ।
तराई अनलाइनको तर्फबाट सन्दीप लामिछानेलाई आगामी यात्राको लागि शुभकामना । तपाईंको समर्पण, क्षमताको सम्मान गर्दै नयाँ यात्रामा सफलता मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं ।






