एजेन्सी । पूर्व बेलायती सांसद केट निभेटनले आफ्ना पति तथा पूर्व सांसद एन्ड्रयु ग्रिफिथमाथि वैवाहिक जीवनमा यौन दुर्व्यवहार र घरेलु हिंसाको गम्भीर आरोप लगाएकी छन् ।
ब्रिटिश टेलिभिजन च्यानल आइटीभीको आगामी वृत्तचित्र ‘ब्रेकिङ द साइलेन्स: केट स्टोरी’ मा केटले भनिन् कि ग्रिफिथले उनलाई सुतिरहेको बेला धेरै पटक बलात्कार गरेका थिए ।
उनले खुलासा गरिन्, “म निदाएको बेला पनि उसले मसँग यौनसम्पर्क गर्न बाध्य बनाउँथ्यो । कहिले काहीँ म सहन मात्रै गर्थे, कहिले काहीँ रुन्थे । रिसाएर मलाई ओछ्यानबाट निकालिदिन्थ्यो । मैले धेरै पटक आफूलाई कोठामा बन्द गरेको थिएँ र घर छाडेर जान बाध्य भएको थिएँ ।”
केटका अनुसार ग्रिफिथले भनेका थिए, ‘तेरो कुरा कसैले पत्याउने छैन, म सांसद हुँ, प्रहरी पनि साथमा छ ।’ केट र ग्रिफिथले २०१३ मा विवाह गरेका थिए र २०१८ मा अलग भएका थिए ।
केटले एक घटनाको स्मरण गर्दै भनिन् कि छोरी दुई हप्ता पुरानो हुँदा छोरी दूधको लागि रोइरहेकी थिइन् । ग्रिफिथले छोरीसँग चिच्याउँदै भनेका थिए, ‘चुप लाग बदमास् ।’ केटले घरेलु हिंसा सबै वर्गका मानिसमा हुन सक्ने भन्दै भनिन्, “धेरैले घरेलु हिंसा गरिब वर्गमा मात्र हुने ठान्छन्, तर यो मध्यमवर्गीय पेशागत मानिसमा पनि हुन सक्छ ।”
बेलायतको पारिवारिक अदालतले २०२१ मा ग्रिफिथले केटलाई पटक पटक बलात्कार र शारीरिक हिंसा गरेको पुष्टि गरेको थियो । अदालतले उनलाई मानसिक यातनाको पनि दोषी ठहर गरेको थियो ।
केटले भनिन् कि विवाह विच्छेदपछि पनि पाँच वर्षसम्म ग्रिफिथले कानुनी व्यवस्थामार्फत उनलाई दुर्व्यवहार गरिरहेको थियो र अदालतले समेत पर्याप्त सुरक्षा दिन सकेको थिएन । उनले भनिन्, “हजारौं महिलाले यस्तो अवस्था भोगिरहेका छन् ।”
यो वृत्तचित्रमा केटको व्यक्तिगत कथा साथै बेलायतमा पारिवारिक अदालतले घरेलु हिंसाका ३० हजारभन्दा बढी मुद्दामा कमजोर निर्णय गर्ने अवस्था पनि देखाइनेछ ।






