बेइजिङ । हरेक वर्षको जुलाई वा अगस्टतिर चीनका राष्ट्रपति सी जिनपिङ अचानक सार्वजनिक कार्यक्रम र मिडियाबाट गायब हुन्छन् । उनी न कुनै अन्तर्राष्ट्रिय मञ्चमा देखिन्छन्, न त आन्तरिक सार्वजनिक गतिविधिमा ।
यस्तो रहस्यमय ‘बेपत्तापन’ हरेक वर्ष दोहोरिन्छ र यसले विश्व समुदायमा अनेक अड्कलबाजी जन्माउँछ । तर राष्ट्रपति सी गोप्य रुपमा गायब भएका होइनन् । यो चिनियाँ कम्युनिष्ट पार्टीको एक विशेष परम्परा हो, जसलाई बेइडाइहे समर रिट्रिट भनिन्छ ।
बेइडाइहे : अवकाशस्थल मात्र होइन, रणनीतिक शक्ति केन्द्र
राजधानी बेइजिङबाट करिब तीन घण्टाको दूरीमा रहेको बेइडाइहे चीनको प्रमुख राजनीतिक र ग्रीष्मकालीन अवकाशस्थल हो । माओत्से तुङको पालादेखि सुरु भएको परम्परा अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू यहाँ प्रत्येक गर्मीयाममा गोप्य बैठकमा सहभागी हुन्छन् ।
यिनै बैठकहरूमा पार्टीको रणनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थतन्त्रको दिशानिर्देश र भावी नेतृत्वका विषयमा गहिरो छलफल हुने गर्दछ । राष्ट्रपति सी जिनपिङले पनि यस परम्परालाई निरन्तरता दिँदै हरेक वर्ष यस समयमा बेइडाइहे पुग्ने गरेका छन् । यसैबीच उनी केही समयका लागि सार्वजनिक दृष्टिबाट ओझेलमा रहने गरेका छन् ।
तर यस पटकको मौनता केही फरक देखिन्छ…
सन् २०२५ को गर्मीयाममा चीन बहुआयामिक चुनौतीको सामना गर्दैछ- घरेलु आर्थिक संकट, उच्च युवा बेरोजगारी, अचल सम्पत्ति बजारमा गिरावट र बढ्दो अन्तर्राष्ट्रिय दबाब । यिनै चुनौतीहरूको बीच राष्ट्रपति सी’को बेइडाइहे ‘गायब’ हुनु थप चासोको विषय बनेको छ ।
साथै, पछिल्लो समय उनका विश्वासपात्र नेताहरू पूर्व विदेशमन्त्री किन गाङ र रक्षामन्त्री ली साङ्फु एकाएक पदमुक्त भएका थिए । ती दुबैको पदबाट हटाउने निर्णय पनि यसै किसिमको ‘गोप्य मौनता’ पछाडि भएको थियो । त्यसयता पार्टीभित्र असन्तुष्टि र उथलपुथलको संकेत देखिएको बताइन्छ ।
पश्चिमी विश्लेषकहरूको अनुमान : शक्ति संकट या रणनीतिक तयारी ?
पश्चिमी मिडिया र विश्लेषकहरूले सी’को यो हरेक वर्षको अनुपस्थिति उनलाई कमजोर बनाउने प्रक्रिया भनेर व्याख्या गर्ने गरेका छन् । The Economist जस्ता प्रतिष्ठित पत्रिकाले राष्ट्रपति सीको तेस्रो कार्यकाल पछिको सत्ताको मजबुतीभन्दा पनि हाल उनलाई विभिन्न संकटले घेरेको उल्लेख गरेको छ ।
उनको सार्वजनिक छविको विषयमा अत्यधिक संवेदनशीलता र आलोचना प्रति असहिष्णुता देखाउने सीको यो मौनता कतै रणनीतिक हो त ? वा शक्तिमा भित्री चुनौतीहरूको संकेत ?
चीनभित्रको घटना, तर असर विश्वमा
राष्ट्रपति सीको शक्तिमा गम्भीर चाप परेको खण्डमा यसको असर चीनमै सीमित रहने छैन । अमेरिका–चीन सम्बन्ध, रुस–चीन मित्रता, ताइवान संकट र दक्षिण चीन सागरको रणनीति यी सबैमा सीको भूमिकाले ठूलो अन्तर पार्दछ । यस्तोमा सत्ताको समिकरणमा हुने हरेक परिवर्तन विश्व राजनीतिमा प्रत्यक्ष असर पार्नेछ ।
बेइडाइहेबाट आउने संकेतहरू गम्भीर हुन सक्छन्
यस पटकको ग्रीष्मकालीन ‘गोप्य बैठक’ले केवल आन्तरिक रणनीति तय गर्न मात्र नभई सम्भवत: पार्टीभित्रको नेतृत्व सन्तुलनमा पनि फेरबदल ल्याउन सक्ने संकेत देखिँदैछ । यही कारण अन्तर्राष्ट्रिय विश्लेषकहरू यस वर्षको बेइडाइहे बैठकलाई अघिल्ला वर्षभन्दा गम्भीर रूपमा हेरिरहेका छन् ।






