बीबीसी । अफगानिस्तानको शक्तिमा आएको तालिबानले देशैभरि आफ्नो पकड बलियो बनाउँदै गइरहेको छ । उसले पूर्वी सहर जलालाबादमा हिंस्रक रूपमा तालिबानविरोधी प्रदर्शनलाई दमन गरेको बताइएको छ । त्यहाँ उनीहरूले कैयौँ मानिसहरूलाई गोली हानेको र केहीको निधन भएको खबर आएको छ ।
उनीहरूले कुनार प्रान्तमा पनि तीन जना बालकलाई गोली हानेर घाइते बनाएको विवरण आएको छ । काबुलस्थित बीबीसी संवाददाताका अनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूहरूले गस्ती गरिरहेका छन् । सडकमा महिलाको सङ्ख्या कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ ।
काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम छ । तालिबानका सदस्यहरूले विमानस्थल परिसर पस्न खोज्ने अफगानहरूलाई रोकिरहेका छन् । उनीहरूले त्यसक्रममा हावामा गोली समेत चलाएको खबर छ । यात्राका लागि आवश्यक कागजात भएका कतिपयलाई पनि उनीहरूले रोकेको खबर छ ।
कतिपय देशहरूले आफ्ना नागरिकका साथमा उनीहरूका सहकर्मीहरूलाई अफगानिस्तानबाट सुरक्षित रूपमा फिर्ता गरिरहेका बेला विमानस्थलमा अराजक अवस्था देखा परेको हो । उक्त विमानस्थलबाट करिब ५,००० जनालाई विगत २४ घण्टामा उद्धार गरिएको छ । अहिले अमेरिकाले खटाएको विशेष फौजले उक्त विमानस्थल चलाइरहेको छ ।
पश्चिमी देशका एकजना अधिकारीले रोयटर्स समाचार संस्थालाई भनेका छन्, “यो एकदमै अस्तव्यस्त र अराजक अवस्थामा छ ।” तालिबानले अमेरिकी राहदानी भएकाहरूलाई चाहिँ विमानस्थल पस्न दिएका छन् ।
तालिबानले गत आइतवार कैयौँ पश्चिमा शक्ति राष्ट्रहरूलाई आश्चर्यचकित पार्ने गरी काबुलमा नियन्त्रण कायम गरेको थियो । अमेरिकी नेतृत्वको फौज अफगानिस्तानबाट फर्किएपछि उसले देशैभरि आफ्नो नियन्त्रण विस्तार गरेको थियो ।






