सर्लाही । बाँके, फूलजोर र लखन्देही खोलामा पुल निर्माण नहुँदा सर्लाहीका एक दर्जनभन्दा बढी पालिकाका बासिन्दा वर्षौंदेखि आवतजावतको समस्यामा परेका छन् । महोत्तरी, सर्लाही र सिन्धुलीको चुरे क्षेत्रबाट बगेर दक्षिणतर्फ भारतीय सीमासम्म पुग्ने यी खोलाहरूमा सडक सञ्जाल भएपनि पुल नहुँदा स्थानीयले दैनिक सास्ती खेप्नुपरेको हो ।
पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा बाहेक अन्य स्थानमा यी खोलाहरूमा पुल निर्माण हुन सकेको छैन । वर्षायाममा बाढी आएपछि खोलामा आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ । यस्तै हिउँदयाममा पानी कम भएपनि बालुवा र ढुङ्गाका कारण सवारी साधन पार गर्न कठिनाइ हुने गरेको स्थानीयको भनाइ छ । विशेष गरी चुरेफेदी क्षेत्रका बासिन्दा बढी प्रभावित भएका छन् ।
महोत्तरीको बर्दिवास नगरपालिका ११ देखि सर्लाहीको ईश्वरपुर, लालबन्दी, हरिवन हुँदै बागमतीसम्म जोड्ने चुरेफेदी सडक खोलाहरूमा पुल नहुँदा पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । हालै लालबन्दी नगरपालिका १६ स्थित परवानीपुरमा पर्ने कालिन्जोर खोलामा भने पुल निर्माण सम्पन्न भएको छ । तर अन्य स्थानमा अझै खोलाबाटै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कायमै छ ।
लालबन्दी नगरपालिका १५ देउरालीका शङ्कर केसीले लालबन्दी र ईश्वरपुर नगरपालिकालाई जोड्ने फूलजोर खोलामा पुल नहुँदा वर्षायाममा आवतजावत लगभग असम्भव हुने गरेको गुनासो गरे । सडकको अवस्था केही सुधार भएपनि पुल अभावले समस्या जस्ताको तस्तै रहेको उनले बताए ।
ईश्वरपुर नगरपालिकाले महोत्तरीको बर्दिवास नगरपालिका ११ खयरमारा र सर्लाहीको ईश्वरपुर नगरपालिका १२ कालिन्जोर जोड्ने बाँके खोलामा पुल निर्माणका लागि तीन वर्षअघि नै सडक विभागसँग बजेट माग गरेको थियो । नगरप्रमुख मनोजकुमार आचार्यले चुरे श्रृङ्खलाको फेदी हुँदै सञ्चालनमा रहेको बर्दिवास–बागमती सडकलाई नियमित बनाउन संघीय सरकारसँग पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएको बताए ।
पालिकाको स्रोतले मात्र पुल निर्माण गर्न सम्भव नभएकाले संघीय सरकारको सक्रियता आवश्यक रहेको उनको भनाइ छ । स्थानीयको जनजीविकासँग जोडिएको रणनीतिक सडक भएपनि पुल निर्माणमा बेवास्ता भइरहेको गुनासो छ । पालिका र प्रदेश सरकारको सहकार्यमा चुरेफेदी सडक अधिकांश स्थानमा कालोपत्रे भएपनि बाँके, फूलजोर र लखन्देही खोलामा पुल नहुँदा सडकको पूर्ण उपयोग हुन सकेको छैन ।
दक्षिणी भेगका बासिन्दाले वर्षायाममा खोलाबाट पार हुन नसकेपछि पूर्व–पश्चिम राजमार्ग वा हुलाकी राजमार्ग हुँदै लामो दूरी घुम्नुपर्ने अवस्था छ । हरिपुर नगरपालिका १ हजारबिघाका वडाध्यक्ष नानीबाबु थापाले लखन्देही खोलामा पुल निर्माणका लागि मन्त्री र मन्त्रालयसम्म पटक–पटक ध्यानाकर्षण गराए पनि कुनै ठोस प्रगति नभएको बताए ।
त्यसैगरी, सर्लाहीको हरिपूर्वा नगरपालिका र महोत्तरीको गौशाला नगरपालिकालाई जोड्ने बाँके खोलामा पुल नहुँदा स्थानीय अत्यन्तै प्रभावित छन् । हरिपूर्वा नगरपालिकाका प्रमुख शियाराम रायका अनुसार हिउँदमा जसोतसो आवतजावत भए पनि वर्षायाममा पूर्व–पश्चिम वा हुलाकी राजमार्गको पुल प्रयोग गरेर घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता छ ।
एक जिल्लाबाट अर्को जिल्लामा हाटबजार जान, खेतीपाती तथा अन्य दैनिक कामका लागि आउजाउ गर्न पुल अभाव ठूलो समस्या बनेको उनले बताए । फागुन २१ गतेको निर्वाचन नजिकिँदै जाँदा स्थानीयवासीले बाँके, फूलजोर र लखन्देही खोलामा पुल निर्माणको विषयलाई पुनः जोडदार रूपमा उठाउन थालेका छन् ।




