पश्चिम नवलपरासी । सशस्त्र प्रहरी बल, नेपालको २५ औँ स्थापना दिवस (रजत महोत्सव) को अवसरमा आयोजना गरिएको पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम पश्चिम नवलपरासी जिल्लामा प्रवेश गरेको छ । बुधबार बिहान साढे ९ बजे, पाल्हिनन्दन गाउँपालिका ६ पडरी कभ्रस्थानस्थित नेपाल–भारत सीमा क्षेत्रमा झण्डा हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका गणपति स.प्र.उ. मेखराज जोशीको नेतृत्वमा रहेको ३५ सदस्यीय टोलीले सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हे.क्वा. पश्चिम नवलपरासीका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष रायमाझीको टोलीलाई नेपालको राष्ट्रिय झण्डा तथा सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गरेको थियो ।
सशस्त्र प्रहरी बल, गण नं. २६, बेलासपुरका सूचना अधिकारी गोविन्दराज न्यौपानेका अनुसार, यो झण्डा मार्च कार्यक्रम शुक्रबार लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेशमा हस्तान्तरण गरिनेछ । २५ औँ रजत जयन्तीको उपलक्ष्यमा सञ्चालन भइरहेको यो कार्यक्रम पर्सा जिल्लाको बिओपी ठोरीमा संगठन प्रमुखको उपस्थितिमा समापन हुने कार्यतालिका रहेको छ ।
कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता, रोहिणी गाउँपालिकाका अध्यक्ष बिद्या प्रसाद यादव, भारतीय सशस्त्र सीमा बल २२ बीएन ‘ए’ कम्पनीका एसी मयंक गुप्ता, स्थानीय पत्रकार तथा सरोकारवालाको उपस्थिति रहेको थियो । झण्डा मार्चमा सशस्त्र प्रहरी निरीक्षक सन्तोष थापाको कमाण्डमा ३५ जना जवान सहभागी थिए ।




