धादिङ । नेपाली राजनीतिमा केही नामहरू पदको उचाइले होइन, पीडाको गहिराइ र संघर्षको निरन्तरताले चिनिन्छन् । रामबहादुर भण्डारी त्यही पंक्तिका नेता हुन्, जसको जीवन यात्रा कम्युनिस्ट आन्दोलन, सशस्त्र द्वन्द्व, राज्य दमन, जेल जीवन र शान्ति प्रक्रियासँग प्रत्यक्ष गाँसिएको छ । अहिले उनी नेकपाबाट धादिङ निर्वाचन क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।
परिवारमा पीडा, राजनीतिमा प्रतिबद्धता
इन्द्रबहादुर भण्डारी र पदमकुमारी भण्डारीका सुपुत्र रामबहादुर भण्डारीको पारिवारिक जीवन पनि असाधारण पीडाले भरिएको छ । सुमित्रा भण्डारीसँग वैवाहिक जीवन बाँडेका उनी पाँच सन्तानका पिता हुन् । तर सशस्त्र द्वन्द्वकालमा उनका दुई छोरा सुचन्द्र भण्डारी (२०५८ चैत २९, बुढाथुमबाट) र सुवास भण्डारी (२०६० कार्तिक, नयाँबजारबाट) राज्य पक्षबाट बेपत्ता पारिए ।
आजसम्म उनीहरूको अवस्था सार्वजनिक भएको छैन । आफ्नै सन्तानको अवस्था बारे अनिश्चिततामा बाँचेका भण्डारीका लागि यो पीडा व्यक्तिगत मात्र होइन, राजनीतिक पनि बन्यो । तर यसले उनको सक्रियता कम गरेन, बरु राजनीतिक अडान अझ दृढ बनायो ।
विद्यार्थी-किसान आन्दोलनदेखि जनयुद्धसम्म
भण्डारीको राजनीतिक यात्रा २०३५ सालमा अखिल नेपाल किसान संघबाट सुरु भयो । २०३६ सालको जनमत संग्रहमा उनले पोखरा, काठमाडौं, धादिङ, चितवन र बुटवलमा जनअभियान सञ्चालन गरे । जयराम श्रेष्ठ र भक्ति लामिछानेजस्ता नेताहरूसँग सहकार्य गर्दै उनी संगठनात्मक रूपमा अगाडि बढे ।
२०३८ सालमा नेकपा (चौम) का पूर्णकालीन सदस्य बनेका भण्डारी २०४७ सालमा मोटो मशालको इलाका सेक्रेटरी बने । २०४८ सालमा एकता महाधिवेशन प्रतिनिधि र २०५१ सालमा नेकपा (माओवादी) मा आबद्ध भए । २०५२ साल पुषदेखि पूर्णकालीन भूमिगत जीवन सुरु गरेका उनले २०५२ फागुनदेखि धादिङमा सेवक–सेवक दलको जिम्मेवारी सम्हाले ।
“किलोसेरा २” अप्रेसन र गोलीको घाउ
२०५५ साल जेष्ठ १८ गते बिहान ४ बजे नेपाल प्रहरीले सञ्चालन गरेको “किलोसेरा २ अप्रेसन” अन्तर्गत उनलाई घरबाटै पक्राउ गरियो । भोलिपल्ट साविक ज्यामरुङ ४ मा प्रहरी हिरासतकै क्रममा उनको बायाँ छातिमा गोली प्रहार गरियो । प्रहरीले मृत घोषणा गरेपनि स्थानीय बासिन्दाको सहयोगमा उनलाई जीवितै उद्धार गरियो ।
धादिङ जिल्ला अस्पताल हुँदै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा पुन: गिरफ्तार गरिएका भण्डारीलाई विभिन्न मुद्दा लगाएर ३ वर्ष २ महिना ७ दिन जेल चलान गरियो । पहिलो युद्धविरामको समयमा, २०५८ साल साउन २८ गते उनी रिहा भए ।
शान्ति प्रक्रियापछि खुला राजनीतिमा
जेलमुक्त भएपछि पनि उनको राजनीतिक सक्रियता रोकिएन । २०५९ सालमा धादिङ जिल्ला कमिटी सदस्य बनेका उनी २०६० सालमा विशेष क्षेत्र स्कुलिङ विभाग प्रमुख र २०६१ सालमा धादिङ जिल्ला जनसरकार प्रमुख भए ।
२०६३ सालमा शान्ति प्रक्रियासँगै खुला राजनीतिमा प्रवेश गर्दै उनले मेलमिलाप, पुनर्निर्माण र स्थायित्वको पक्षमा काम गरे । २०७० सालमा स्थानीय शान्ति समिति धादिङका अध्यक्ष बनेका उनी सोही वर्ष प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार पनि बने ।
पछिल्लो समय २०८१ सालमा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य र २०८२ सालमा नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बनेका भण्डारी अहिले धादिङ २ बाट प्रत्यक्ष प्रतिस्पर्धामा छन् ।
चुनावी मैदानमा ‘संघर्षको प्रतीक’
छातीमा गोलीको घाउ र हृदयमा दुई बेपत्ता छोराको पीडा बोकेर पनि राजनीतिक यात्रामा निरन्तरता दिएका भण्डारीलाई उनका समर्थकहरू ‘संघर्षको प्रतीक’का रूपमा व्याख्या गर्छन् । विरोधीहरूले भने उनलाई पुरानो राजनीतिक धारका प्रतिनिधि भनेर मूल्यांकन गर्छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा धादिङ २ मा उनको उम्मेदवारी विशेष चर्चामा छ । स्थानीय मतदाता माझ उनी आफूलाई जनताको समस्या नजिकबाट बुझेका, निडर र स्पष्ट वक्ताका रूपमा प्रस्तुत गरिरहेका छन् ।
धादिङ २ मा यस पटकको चुनाव केवल उम्मेदवारहरूको प्रतिस्पर्धा मात्र होइन, विगतको संघर्ष र वर्तमानको अपेक्षा बीचको बहस पनि बनेको छ । त्यस बहसको केन्द्रमा छन्- रामबहादुर भण्डारी ।
यस्ता छन् उनका प्रमुख एजेन्डा;
– सडक, खानेपानी र विद्युत् जस्ता आधारभूत पूर्वाधारको सन्तुलित विकास
– युवा रोजगारी र स्वरोजगार सिर्जना, वैदेशिक पलायन रोक्ने नीति
– शिक्षा र स्वास्थ्य सेवामा समान पहुँच, ग्रामीण क्षेत्रलाई प्राथमिकता
– भ्रष्टाचारविरुद्ध कडा कदम, पारदर्शी शासन प्रणाली
– किसान र मजदुरका हकहित, उत्पादनमुखी कृषि नीति
– संघीयताको प्रभावकारी कार्यान्वयन, स्थानीय तहको अधिकार सुनिश्चितता






