रौतहट । रौतहटको पश्चिमी क्षेत्र फतुवा विजयपुर नगरपालिकामा बुधबार राति अज्ञात चोर समूहले तीन घरमा सुरुङ्ग खनेर प्रवेश गर्दै लाखौं रुपैयाँ नगद तथा सुनचाँदीका गरगहना चोरी गरेका छन् । घटनाले स्थानीयवासीमा त्रास फैलाएको छ भने ग्रामीण क्षेत्रमा सुरक्षा व्यवस्थामाथि प्रश्नसमेत उठाएको छ ।
फतुवा विजयपुर नगरपालिका ६ मोतिपुर टोलस्थित रामप्रसाद यादव, तेजनारायण यादव र स्वर्गीय गजेन्द्र सहनीको घरमा चोरहरूले पालैपालो सुरुङ्ग खनेर प्रवेश गरेका थिए ।
परिवारका सदस्यहरू गहिरो निद्रामा रहेका बेला भएको चोरीमा रामप्रसाद यादवको घरबाट नगद २ लाख ८० हजार रुपैयाँ तथा करिब २ लाख ४० हजार रुपैयाँ बराबरको सुनको मंगलसूत्र र हनुमानी चोरी भएको पीडित परिवारले जनाएको छ ।
त्यसैगरी तेजनारायण यादवको घरबाट करिब २० हजार रुपैयाँ मूल्य बराबरका चाँदीका बालबालिकाले लगाउने तीन थान बाला चोरी भएको बताइएको छ । चोरहरू सहनीको घरभित्र समेत प्रवेश गरेपनि त्यहाँबाट कुनै सामान लैजान नसकेको स्थानीयले बताएका छन् ।
घटनापछि बिहिबार बिहान इलाका प्रहरी कार्यालय विजयपुरको टोली घटनास्थल पुगेको थियो । प्रहरीसँगै पुगेका वडा ६ का अध्यक्ष राम एकवाल यादवका अनुसार चोरहरूले ट्रंक र बाकसाका ताला तोडेको कुनै स्पष्ट चिन्ह नदेखिएकाले नक्कली चाबी प्रयोग गरिएको हुन सक्ने आशंका गरिएको छ ।
“ताला सहज रूपमा खुलेको अवस्थामा भेटिएको छ, त्यसैले चोरहरू व्यावसायिक र योजनाबद्ध समूह हुन सक्छन्,” उनले बताएका छन् । घटनालाई थप रहस्यमय बनाउने अर्को पक्ष भनेको बुधबार दिउँसोदेखि गाउँ नजिकै पाल टाँगेर बसेको १०–१२ जनाको घुमन्ते ९नेटुवा० को समूह बसेका छन् ।
स्थानीयका अनुसार उक्त समूहका केही सदस्यहरूले गाउँका घरघरमा पुगेर आफूहरू झाँक्री तथा तान्त्रिक भएको भन्दै सम्पर्क गर्न आग्रह गरेका थिए । त्यसपछि राति चोरी भएको घटनाले स्थानीयस्तरमा शंका उत्पन्न गरेको छ ।
यद्यपि प्रहरीले हालसम्म कसैको संलग्नता पुष्टि नभएको स्पष्ट पारेको छ । शंकास्पद गतिविधिका आधारमा सोधपुछका लागि नेटुवा समूहका तीन जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।
ग्रामीण क्षेत्रमा पछिल्ला दिनमा चोरीका घटना दोहोरिन थालेपछि स्थानीय तह, प्रहरी र समुदायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनु पर्ने आवश्यकता देखिएको छ ।
विशेष गरी रातिको गस्ती, अपरिचित व्यक्तिको निगरानी तथा सामुदायिक सुरक्षा संयन्त्रलाई सक्रिय बनाउन सके यस्ता घटनामा कमी ल्याउन सकिने स्थानीयको भनाइ छ ।




