वीरगञ्ज । वीरगञ्ज महानगरपालिका १४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार साँझ करिब साढे ७ बजे प्रहरीले क्यासिनोमा छापा मार्दा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्य भइरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकामध्ये चार जना बारा र एक जना रौतहटका रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।
नेपालको कानुनी व्यवस्थाअनुसार क्यासिनोमा नेपाली नागरिकको प्रवेश तथा जुवा खेल्ने कार्यमा प्रतिबन्ध रहेको छ ।




