बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुर स्थित ब्रह्मबाबा चौर नजिकको नहरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका ७ जितपुरका ५६ वर्षीय हरिनारायण सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
२०८३ कात्तिक ४ गते बिहान करिब ६ बजे मृतकका छोरा राम विनय सहनीले नहरमा शव देखेपछि नहरबाट निकालेर डिलमा राखेका थिए । त्यसपछि बिहान सवा ६ बजे इलाका प्रहरी कार्यालय जितपुरमा घटनाबारे जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक मिनबहादुर घलेले बताए ।
सूचना प्राप्त हुना साथ प्रहरी वरिष्ठ हवल्दार उमेश निरौलाको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटाइएको उनले बताए । घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा पाँच जनाको टोली समेत खटिएको थियो ।
प्रहरीले बिहान सवा ८ बजे प्रारम्भिक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा पठाएको थियो । पोस्टमार्टम पछि बिहान साढे ११ बजे मृतकका छोरा विनय सहनीले शव बुझिलिएको उनले जानकारी दिए ।




