सिरहा । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपको प्रभाव सिरहाको गोलबजारसम्म फैलिएको घटनामा संलग्न रहेको आरोपमा गोलबजार नगरपालिका ११ का वडा अध्यक्ष सोहेव अनवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा अनुसन्धानका क्रममा फरार रहेका वडा अध्यक्ष अनवरलाई पक्राउ गरिएको हो । घरमै लुकिछिपि बसिरहेको अवस्थामा वडा अध्यक्ष अनवरलाइ नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारको प्रहरि निरीक्षक दिपक खरेलले बताए ।
उनले भने, ´वडा अध्यक्ष अनवरलाइ सम्प्रदाय दङ्गा भड्काएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ गरेका वडा अध्यक्षलाई थप अनुसन्धानका लागि राति नै जिल्ला प्रहरि कार्यालय पठाइएको जनाए ।
स्थानीयका अनुसार, वडा अध्यक्ष अनवरसहित करिब २० वटा मोटरसाइकलमा दुईदेखि तीन जनाका दरले सवार व्यक्तिहरू गोलबजार प्रवेश गरेका थिए । उनीहरूमध्ये केहीले धारिलो हतियार बोकेको र अर्को पक्षलाई गालीगलौज गर्दै ढुंगामुढा सुरु गरेपछि दुई पक्षबीच झडप भएको स्थानीयको दाबी छ ।
घटनामा वडा अध्यक्ष अनवरको संलग्नता रहेको दाबीसहित मोटरसाइकलमा सवार भएर गोलबजारतर्फ आउँदै गरेको भनिएको भिडियो समेत सार्वजनिक भएको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिएसँगै घटनामा उनको भूमिका र झडपको वास्तविक कारणबारे थप अनुसन्धान हुने भएको छ ।




