सिरहा । सिरहाको गोलबजार नगरपालिका ४ निपनिया चोकस्थित सडकखण्डबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाका कार्यालय प्रमुख प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, महोत्तरीसमेतको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको एफजेडएस मोटरसाइकल रोकी खानतलासी गर्दा सिरहाको सुखीपुर नगरपालिका ५ बस्ने उत्तिमलाल यादवका ३१ वर्षीय छोरा अजयकुमार यादवको साथबाट लागुऔषध खैरो हेरोइनजस्तो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरि निरीक्षक दिपक खरेलले बताए ।
उनले भने, ‘अजयकुमारले बोकेको हाफ पाइन्टको दाहिने खल्तीमा रहेको एकथान मोबाइल र बायाँ खल्तीमा रहेको गिलो अवस्थामा दुईवटा प्लास्टिकभित्र खैरो हेरोइनजस्तो पदार्थ फेला परेको छ ।’ डिजिटल तराजुमा प्लास्टिकसहित तौल गर्दा उक्त पदार्थको तौल ५८.५२ ग्राम रहेको र प्लास्टिक हटाउँदा ५३.०३ ग्राम रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, मोटरसाइकलको पछाडि सवार सिरहाको सुखिपुर नगरपालिका १० बस्ने शिवजी यादवका २५ वर्षीय छोरा अरविन्दकुमार यादवको साथबाट पनि खैरो रंगको पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट पनि कालो रंगको डिजिटल एकथान तराजु र प्रदेश नम्बर उल्लेख भएको एमए स्टेट ०१००६ पीए ५१३९ नम्बरको खरानी रंगको एफजेडएस मोटरसाइकल समेत बरामद गरिएको छ ।
प्रहरीले लागुऔषधजस्तो देखिने पदार्थ, डिजिटल तराजु र मोटरसाइकल बरामद गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




