वीरगन्ज । पर्साको वीरगन्जबाट प्रहरीले १ हजार ५० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ५ भेडियाहीस्थित एक घरको टहरामा लुकाएर राखिएको अवस्थामा आइतबार दिउँसो प्रहरीले उक्त मदिरा बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले टहरामा लुकाइछिपाइ राखिएको ७० पोका तयारी घरेलु मदिरा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद मदिरा कानुनी प्रक्रिया पूरा गरी कार्यालयमा ल्याइएको र नष्ट गर्ने प्रक्रियामा राखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार अवैध रूपमा घरेलु मदिरा उत्पादन, बिक्री वितरण तथा ओसारपसार गर्नु गैरकानुनी कार्य हो । मापदण्ड विपरीत विभिन्न रसायन प्रयोग गरी उत्पादन गरिने मदिराले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले यस्ता गतिविधिमा संलग्न नहुन प्रहरीले आग्रह गरेको छ ।
त्यस्तै, अवैध घरेलु मदिरा उत्पादन, बिक्री वितरण वा ओसारपसार भइरहेको जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको हटलाइन नम्बर १०० मा खबर गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।




