सिराहा । सिराहामा प्रहरीले २२ किलोभन्दा बढी गाँजा तथा गाँजाजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । धनगढीमाई नगरपालिका १० डगर टोलबाट अवैध लागूऔषध गाँजा ६ किलो २ सय ७० ग्रामसहित विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुरका ४१ वर्षीय शिवशंकर साहलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरी टोलीले मधेस प्रदेश ०३–०३२ प ७५२ नम्बरको मोटरसाइकलमा सवार साहलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको जनाएको छ । यसैगरी, धनगढीमाई नगरपालिका १४ बिहिबारे टोलका ५६ वर्षीय झनकबहादुर ठकुरीलाई गाँजाजस्तो देखिने पदार्थ १६ किलोग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
सोमबार साँझ लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरी टोलीले ठकुरीको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि उनलाई पक्राउ गरेको हो । प्रहरीले दुवै घटनामा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




