काठमाडौं । आईसीसी एकदिवसीय वरियतामा नेपाली टिमले सुधार गरेको छ । नेपालले नयाँ वरियतामा एक स्थान सुधार गरेको हो । ओमान भ्रमणमा रहेको नेपालले पीएनजीसँग दुई र अमेरिकासँगको एक म्याचमा जित हात पारेपछि वरियतामा पनि सुधार गरेको हो ।
यसअघि १६ औँ स्थानमा रहेको नेपाल एक स्थान माथि उक्लदै १५ औँ स्थानमा पुगेको छ । योसँगै नेपालले ओमानलाई पछि पारेको छ । १५ औं स्थानमा रहेको ओमान एक स्थान तल झर्दै १६ औं स्थानमा खस्किएको छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालभन्दा अघि स्कटल्याण्ड १४ औं स्थानमा रहँदा टेस्ट राष्ट्र जिम्बाम्बे र आयरल्याण्ड क्रमशः १३औं र १२ औं स्थानमा छन् । अर्को एसोसिएट राष्ट्र नेदरल्याण्ड्स ११ औँ स्थानमा छ ।
तालिकाको शीर्ष स्थानमा न्यूजिल्याण्ड रहँदा १० औं स्थानमा अफगानिस्तान छ । ओमान १६ औं, यूएई १७ औं, नामिबिया १८ औं, अमेरिका १९ औं तथा पपुवा न्यु गिनी २० औं स्थानमा छन् । टी-२० वरियतामा नेपाल १३ औँ स्थानमा छ ।






