काठमाडाैं । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ परेकी छिन् । उत्तर प्रदेशमा पर्ने सितापुरको हरगाउँबाट प्रहरीले उनलाई आज (सोमबार) बिहान करिब साढे पाँच बजे नियन्त्रणमा लिएको हो ।
उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई पक्राउ गरेकाे हो ।गान्धीसँगै कांग्रेसका अन्य नेताहरुलाई त्यतै प्रस्थान गरेका थिए ।
प्रहरीले गान्धीलाई पक्राउ गर्नका लागि सडकका विभिन्न ठाउँमा गाडीहरु रोक्दै चेकिङ गर्दै आएको थियो । सोही क्रममा सितापुरको हरगाउँमा फेला पारेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार गान्धीलाई मन्दिर मार्गस्थित प्रहरी चौकीमा आधा घण्टा हिरासतमा राखेर पछि छाडिएको थियो ।
भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरु लामो समयदेखि आन्दोलनमा छन् । सोही आन्दोलनको क्रममा उत्तरप्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा हालै एक व्यक्तिले किसानहरुलाई गाडीले कुल्चिएको र सो घटनामा परी तीन जनाको मृत्यु भएको दाबी गरिएको छ । यद्यपि प्रहरी प्रशासनले केही व्यक्ति घाइते भएको भने पनि मृत्युको पुष्टि गरेको छैन ।






