एजेन्सी । आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो जित हात पारेको छ । ओमान क्रिकेट एकेडेमीमा मंगलबार राति सम्पन्न खेलमा बंगलादेशले ओमानलाई २६ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रनमा सीमित भयो ।
ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाउन बाहेक अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन् । ओमानलाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले ४ विकेट लिँदा शकिब अल हसनले ३ तथा मोहमद सैफुदीन र मेहदी हसनले १र१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा अलआउट हुँदै १ सय ५३ रन बनाएको थियो । बंगलादेशका लागि मोहमद नाइमले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा शकिब अल हसनले ४२ रन जोडेका थिए ।
बंगलादेशले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको अर्को चरणमा छानिने आशा जिवितै राखेको छ । पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएपछि पहिलो चरणबाटै बाहिरिने सम्भावना बढेको बंगलादेशले दोस्रो खेलमा ओमानलाई पराजित गरेसँगै मुख्य स्पर्धामा पुग्ने सम्भावना बलियो बनाएको हो ।
अंक तालिका
पहिलो चरणको समूह बी को खेलमा अन्तिम चरणको खेल हुनुअघिको दुई चरणको खेलबाट स्कटल्याण्ड ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । बंगलादेश र ओमानको समान २–२ अंक छ । बंगलादेश पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो भने ओमानले पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) लाई हराएको थियो ।
पीएनजी लगातार दुई हारसहित पुछारमा छ । यो हारले पीएनजी प्रतियोगिताबाट बाहिरिएको छ । आठ टिमलाई २ समूहमा विभाजन गरी खेलाइएको छ । हरेक समूहका शीर्ष दुई टिम अर्को चरणमा पुग्नेछन् र मुख्य स्पर्धा शुरु हुनेछ ।






