एजेन्सी । टी-२० विश्वकप अन्तर्गत शेख जायद रंगशालामा बुधबार राति सम्पन्न खेलबाट श्रीलंका सुपर १२ मा प्रवेश गरेको छ । समूह चरणका खेलबाट शीर्ष दुईमा पर्ने निश्चित भएसँगै श्रीलंका अर्को चरणमा प्रवेश पाएको हो । उसले समूह चरणका तीन खेलमध्ये दुवै खेलमा जित निकाल्दै चार अंक बनाएको छ ।
अबुधाबीमा सम्पन्न खेलमा आयरल्यान्डसँग टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले पूरा ओभर खेल्दै सात विकेटको क्षतिमा १७१ रन बनाएको थियो । १७२ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको आयरल्यान्ड ९ बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १०१ रनमा समेटिएपछि श्रीलंकाले ७० रनको जित निकालेको हो ।
श्रीलंकाको जितमा प्लेयर अफ दि म्यानसमेत बनेका वानिन्दू हसरंगा डि सिल्वा नायक रहे । उनले ४७ बलमा एक छक्का र १० चौकाको मद्दतबाट ७१ रन बनाए । त्यस्तै, ओपनर पठाम निसान्कले पनि ४७ बलमा ६१ रन जोडे । कप्तान डसुन शंकाले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन् ।
बलिङतर्फ आयरल्यान्डका जोस लिटलले चार ओभरमा २३ रन खर्चिएर चार विकेट लिए । जवाफी ब्याटिङमा एन्डी बालबिनीले ४१ र कर्टिस क्याम्पफरले २४ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । श्रीलंकाका महिश ठिकसनाले तीन विकेट लिए भने चम्मिका गुणरत्ने र लहिरु कुमाराले समान २/२ विकेट लिए ।
त्यस्तै अर्को खेलमा नामिबियाले आईसीसी टी-२० विश्वकप क्रिकेटमा रेकर्ड राखेको छ । नामिबियाले युएई र ओमानमा जारी विश्वकपमा पहिलो जित निकालेको छ । विश्वकपमा यो नै नामिबियाको रेकर्ड जित हो ।
यूएईको अबुधाबीमा बुधबार भएको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नामिबियाले पहिलो जित निकालेको हो । नेदरल्यान्ड्सले दिएको १६५ रनको विजयी लक्ष्य नामिबियाले १९ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो ।
नामिबियाको जितमा डेविड विजले नटआउट रहँदै ४० बलमा ६६ रन बनाए । उनले ५ छक्का र ४ चौका प्रहार गरेका थिए । प्लेयर अफ द म्याच उनले १ विकेटसमेत लिएका थिए । त्यस्तै कप्तान गेर्हार्ड इरास्मसले ३२ रन बनाए । कमजोर बलिङ गरेको नेदरल्यान्ड्सका फ्रेड क्लासेन, कोलिन, टिम भान डेर र पिटर सिलारले एक एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेटको नोक्सानीमा १६४ रन बनाएको थियो । ओपनर म्याक्स ओ’डोडले ५६ बलमा ७० रन बनाएका थिए । त्यस्तै कोलिन एकरमानले ३५ रन जोडे । नामिबियाका जान फ्राइलिंकले सर्वाधिक २ विकेट लिए ।
जितसँगै नामिबियाले सुपर-१२ मा पुग्ने सम्भावना कायम राखेको छ । पहिलो खेलमा नामिबिया पराजित भएको थियो । पहिलो खेलमा नामिबिया श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेदरल्यान्ड्स आयरल्यान्डसँग ७ विकेटले नै पराजित भएको थियो । लगातार दुई हारले नेदरल्यान्ड्सको सुपर–१२ मा पुग्ने सम्भावना सकिएको छ ।
समूह ए मा आयरल्यान्ड र नामिबियाको समान २/२ अंक छ । यता, समूह चरणबाटै बाहिरएको नेदरल्यान्डले अंक जोड्न सकेको छैन । अर्को खेलमा श्रीलंकाले नेदरल्यान्डसँग खेल्नेछ । त्यो खेलमा पनि जित निकाले उ समूह विजेता बनेर सुपर १२ मा प्रवेश गर्नेछ । सुपर १२ लाई ६–६ देशको दुई समूहमा बाँडिएको छ ।






