बीबीसी । लक्षण देखिने कोभिडका बिरामीहरूको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई यूकेको औषधि नियामक निकायले अनुमोदन गरेको छ । मोल्न्यूपिरभीर नाम दिइएको चक्की भर्खरै कोभिड देखिएका जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक दिइनेछ ।
शुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको उक्त चक्कीले अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ । यूकेका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो ओखती “महत्त्वपूर्ण” हुने बताएका छन् ।
पहिलो खाने चक्की
“हाम्रो देशका लागि आज ऐतिहासिक दिन हो । कोभिड बिरामीको उपचारका लागि घरमै लैजान सकिने एन्टिभाइरललाई अनुमोदन गर्ने यूके विश्वकै पहिलो मुलुक बनेको छ,” स्वास्थ्यमन्त्रीले एउटा वक्तव्यमा भनेका छन् ।
मोल्न्यूपिरभीर अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको कोभिड विरुद्धको पहिलो ओखती हो जसलाई सुईको रूपमा लिनुभन्दा खान सकिनेछ ।
कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको यूकेको औषधि नियामक एमएचआरएले जनाएको छ ।
“कोभिडको उपचारमा सुईको रूपमा दिनुको साटो खान मिल्ने विश्वमै यो पहिलो पटक अनुमोदन गरिएको एन्टिभाइरल हो,” संस्थाकी प्रमुख कार्यकारी जुन रेनले भनिन् । “यो महत्त्वपूर्ण छ किनकि कोभिड गम्भीर अवस्थामा पुग्नुअघि अस्पतालबाहिर पनि यसको प्रयोग गर्न सकिन्छ ।”
यूकेले शुरूमा यो वर्षको अन्त्यसम्ममा ४,८०,००० वटा मोल्न्यूपिरभीर चक्की पाउने गरी खरिद सम्झौता गरेको छ । साथै उसले हाल अमेरिकी कम्पनी फाइजरले समेत विकास गर्दै गरेको सोही प्रकृतिको २,५०,००० चक्की पनि खरिद गर्नेछ ।
यसैबीच, युरोपका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले युरोप फेरि एक पटक कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु बन्न सक्ने चेतावनी दिएका छन् । हान्स क्लूगले भनेका छन्- आगामी तीन महिनाभित्र त्यस क्षेत्रमा थप पाँच लाख मानिसको ज्यान जान सक्छ ।
मध्य एशियासमेत समेटिने उक्त क्षेत्रमा गत साता विश्वभरि भएको सङ्क्रमणमध्ये आधा पाइएको र त्यसमध्ये लगभग आधाको निधन भएको पनि उनले बताए । क्लूगले खोप अभियानलाई तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।




