एजेन्सी । दक्षिण अफ्रिकन फास्ट बलर डेल स्टेनले इन्डियन प्रिमियर लिग (आईपीएल) भन्दा पाकिस्तान सुपर लिग (पीएसएल) र लंका प्रिमियर लिग (एलपीएल) उत्कृष्ट रहेको बताएका छन् । ३७ वर्षीय स्टेनले आईपीएलको तुलनामा पीएसएल र एलपीएल बढी प्रभावकारी रहेको बताए । उनले आईपीएलमा पैसा धेरै केन्द्रमा हुने भन्दै क्रिकेट बिर्सने बताए ।
यस्तै अन्य लिगमा भने क्रिकेट केन्द्रित हुने बताए । क्रिकेट पाकिस्तानसँग कुरा गर्दै स्टेनले आईपीएल २०२१ बाट टाढा रहनुको कारण बताएका हुन् । स्टेनले पीएसएल र एलपीएलमा खेलाडीलाई धेरै सम्मान दिने बताए । स्टेनले आईपीएल २०२१ को मिनी अक्सनअघि रोएल च्यालेन्जर्स बैंगलोरबाट आफ्नो नाम फिर्ता लिएका थिए । २०२० मा उनले बैंगलोरबाट जम्मा ३ खेल खेलेका थिए ।
२०१५ यता स्टेनले आईपीएलमा जम्मा १२ खेल खेलेका छन् । स्टेनले आईपीएलमा अहिलेसम्म ९५ खेल खेल्दै ६.९१ को इकोनोमीमा ९७ विकेट लिएका छन् । उनले डेक्कन चार्जर्स, सनराइजर्स हैदरावाद, गुजरात लायन्स र बैंगलोरबाट खेलेका छन् । स्टेन हाल क्वेट्टा ग्लाडिएटर्सबाट पीएसएल खेलिरहेका छन् । त्यसअघि उनले एलपीएलमा क्यान्डी टस्कर्सबाट खेलेका थिए ।






