काठमाडौं । टाटासुमोले ठक्कर दिँदा घाइते भएकी पैदल यात्री बालिकाको मृत्यु भएको छ । पासाङल्हामु मार्गको विदुर-धुन्चे सडकखण्डको ठाडेमा टाटासुमोले ठक्कर दिँदा ठाडेकी ४ वर्षीया नैनी घलेको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ । ना १ ज ६१७६ नम्बरको टाटा सुमोले ठक्कर दिएपछि उपचारका क्रममा बालिकाको मृत्यु भएको हो ।
बालिकासहित उनकी ३० फुपु वर्षीया उर्जा घले र दाजु ८ वर्षीया करन घले घाइते भएका छन् । पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भएको टाटासुमो सडकबाट ५० मिटर तल भीरमा खसेर दुर्घटनामा परेको थियो । टाटासुमोमा सवार चालकसहित चार जना पनि घाइते भएका छन् ।
प्रहरीका अनुसार टाटासुमो चालक रसुवाकै आमाछोदिङ्मो गाउँपालिकाका छिरिङदोर्जे तामाङ, गाडिमा सवार यात्रु रमेश लोप्चन, याङसेन घले र गाडि मालिक घाइते भएका छन् । गाडि मालिकको नाम खुलेको छैन ।
घाइते उर्जा घले, करन घले, टाटासुमो चालक छिरिङदोर्जे तामाङ र गाडि मालिकलाई उपचारका लागि नुवाकोट लगिएको रसुवा प्रहरीले जनाएको छ । टाटासुमोमा सवार यात्रु रमेश लोप्चन र याङसेन घलेलाई उपचारका लागि सदरमुकाम धुन्चे लगिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।






