काठमाडौं । पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन् । उनले वंशजको आधारमा बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएकी हुन् । उनको नागरिकता सनाखत गर्न पूर्वयुवराज्ञी हिमानी शाह प्रशासनमा पुगेकी थिइन् ।
नेपालको संविधान अनुसार बुवा वा आमा दुबैको नामबाट नागरिकता प्राप्त गर्न सकिन्छ । छोरीले नागरिकता लिँदा पूर्वयुवराज पारस भने गएका थिएनन् । यसअघि जेठी छोरी पूर्णिकाले नागरिकता लिँदा पनि सनाखत गर्न हिमानी नै गएकी थिइन् ।
नेपालमा पहिला राज परिवारका सदस्यले नागरिकता लिनु नपर्ने व्यवस्था थियो । २०६५ सालमा गणतन्त्र घोषणा भएपछि पनि पूर्वराजपरिवारका सदस्यको नागरिकता बारे स्पष्ट व्यवस्था थिएन । २०७२ सालमा नयाँ संविधान जारी भएपछि सबै नेपाली नागरिकलाई संविधानमुनि राखिएको छ ।
अहिले पासपोर्ट बनाउन पनि नागरिकता अनिवार्य गरिएको छ । नाबालकको हकमा भने जिल्ला प्रशासन कार्यालयले दिने सिफारिसको आधारमा पासपोर्ट बन्ने गरेको छ । पारस-हिमानी दुबैले नेपाली नागरिकता लिइसकेका छन् । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले नागरिकता लिएका छन् / छैनन् भन्ने खुलेको छैन ।






