एजेन्सी । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप २ लाख ५८ हजार ८९ जना संक्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक संक्रमितहरुको संख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।
आइतबार सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार २०२ जना नयाँ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म कुल ३ करोड ७३ लाख ८० हजार २५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
ती मध्ये १६ लाख ५६ हजार ३४१ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । संक्रमित अवस्थामै रहेकाहरुको संख्या दिन प्रति दिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म संक्रमित मध्ये ८ हजार २०९ जना मात्रै ओमिक्रोनबाट संक्रमित रहेको पाइएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या १ लाख ५१ हजार ७४० रहेको छ । एउटै अवधिमा नयाँ संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या झण्डै १ लाख कम भएकाले दैनिक रुपमा सक्रिय संक्रमितहरुको संख्या बढ्दै गएको हो ।
भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या ३ करोड ५२ लाख ३७ हजार ४६१ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा ३८५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ४ लाख ८६ हजार ४५१ रहेको छ ।




