सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा कार्यकर्ताहरुले पार्टीका जिल्ला अध्यक्षलाई कार्बाही गरेको घोषणा गरेका छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका वरिष्ट नेताहरुलाई कार्बाही गरि नेपाली जनतामाथी घात गरेका भन्दै युवा संघ नेपाल सर्लाहीले विरोध जुलुस गरेको केही समयपछि अध्यक्ष ओली निकटका केही नेताहरुले विज्ञप्ती निकालेर नेकपा (एमाले) सर्लाहीका जिल्ला अध्यक्ष रेवती पन्तलाई कार्बाही गरिएको बताएका छन् ।
अध्यक्ष ओलीले पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र उपाध्यक्ष भिम रावललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कार्बाही गरिएको बताउनु भएपछि आक्रोसित बनेका युवा संघ नेपाल र अनेरास्ववियूका नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली विरुद्ध नाराबाजी गरेका थिए । सोही विषयलाई लिएर पार्टी अध्यक्ष ओलीले गरेको निर्णय पार्टीको निर्णय भएको भन्दै पार्टी विभाजन पछि केन्द्रीय सदस्य बनाइएका ९ जना केन्द्रीय सदस्यहरुले संयुक्त रुपमा विज्ञाप्ती निकालेका हुन् ।
नेकपा एमाले सर्लाहीका अध्यक्ष पन्तले केही समय देखि पार्टीको नाममा गुटगत र एकतालाई असर पार्ने गरि कार्यक्रमहरु गर्दै आएको भन्दै आफुहरुको गंभिर ध्यानाकर्षण भएको संयुक्त हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ । जिल्ला अध्यक्ष पन्तले पार्टीको विधि प्रक्रिया र नियम विपरित कार्यक्रम गर्नु अनुशासन हिन भएको भन्दै आफुहरुले अध्यक्ष पन्त नेकपा एमाले सर्लाहीको अध्यक्ष नरहेको विज्ञप्ती मार्फत बताएका छन् ।
साथै पार्टी अध्यक्ष पन्तको नेतृत्वमा भएका कार्यक्रममा सहभागी नहुन उनिहरुले जिल्लाबासी समक्ष अपिल समेत गरेका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेको समयमा केन्द्रीय सदस्य बनाइएका बद्रीप्रसाद न्यौपाने, रविन्द्र वैठा, कमलादेवी महत्तो, हरि प्रसाद उप्रेती, मनोज कुमार देवकोटा, राजनारायण साह, गणेश प्रसाद प्रसाई, कल्पना कटुवाल र राजकुमार राय यादवको संयुक्त हस्ताक्षेरीत विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ ।







