बीबीसी । रुसले युक्रेनको सीमाबाट आफ्ना सेना फर्काउन थालेको दाबी “मिथ्या” भएको एक वरिष्ठ अमेरिकी अधिकारीले आरोप लगाएका छन् । ती अधिकारीले हालैका दिनमा रुसले थप ७,००० सैनिक त्यहाँ तैनाथ गरेको र “कुनै पनि बेला मिथ्या अवस्था” देखाएर आक्रमण गर्न सक्ने बताएका छन् ।
आक्रमणको योजना रहेको विषय अस्वीकार रुसले भने सीमामा सैन्य अभ्यास सकिएको र सैनिकहरू फिर्ता गर्न थालेको दाबी गरेको छ । तर पश्चिमा अधिकारीहरूले यसबारे कुनै प्रमाण नदेखेको बताएका छन् ।
युक्रेनमाथि आक्रमण गर्न सकिने गरी रुसले गरेको तयारी कस्तो छ त ?
रुसले बख्तरबन्द, हातहतियार र उपचार सुविधासहित करिब एक लाख ३० हजार सैनिक युक्रेनको सीमा नजिक तैनाथ गरेको छ । यसमा बेलारुसमा सैन्य अभ्यास गरिरहेका ३०,००० सैनिक पनि समावेश छन् ।
अघि बढ्दै फौज
आक्रमणका लागि आवश्यक मुख्य-मुख्य सहायता इकाईहरू पछिल्ला दिनहरूमा कम्ब्याट फौजसहित अघि बढिरहेको बताइएको छ । यसमा बख्तरबन्द मर्मत गर्ने वर्कसप, माटो पन्छाउने उपकरण र केही स्थानमा रगतको आपूर्ति सहितका अस्पतालहरू रहेको ठानिएको छ ।
केही विश्लेषकहरूले मानिसहरूको चहलपहल र अस्पतालहरूको उपस्थिति आक्रमणको तयारीको सङ्केत भएको बताएका छन् । आक्रमणको लागि यस्तो सहायता इकाईहरू सबै क्षेत्रमा उपलब्ध भए वा नभएको स्पष्ट हुन सकेको छैन ।
रुसका विभिन्न स्थानबाट आएका ३५,००० फौजहरू युक्रेनको सीमामा स्थायी इकाईको रूपमै तैनाथ भएका छन् । केही नयाँ सैन्य इकाईहरू रुसको सुदूरपूर्वबाट करिब ४,००० माइल यात्रा गरेर युक्रेनको सीमा नजिक आएका छन् ।
सबैभन्दा गह्रौँ हतियारहरू युक्रेनको सीमाभन्दा ८० माइल टाढाको कुर्स्क हुँदै रेलबाट ल्याइएका छन् । अरू साधनहरू कराचेभ क्षेत्र सडक मार्क हुँदै ल्याइएका छन् ।
एक लाख ३० हजार सैनिक
यसअघि अधिकांशले युक्रेनको सीमा नजिक तैनाथ भएका रुसी फौजहरूको सङ्ख्या एक लाख भएको आकलन गरेका थिए । तर बिहीवार पश्चिमा अधिकारीहरूले पुरानो आकलनभन्दा धेरै फौज युक्रेन सीमामा रहेको र त्यसको सङ्ख्या एक लाख ३० हजार पुगेको बताएका छन् ।
यूकेका रक्षामन्त्री बेन वालेसले रुसले उसको आधा लडाकु फौज युक्रेनको सीमा नजिक बेलारुसमा तैनाथ गरेको बताएका छन् । युक्रेनले पनि यस्तै सङ्ख्यामा फौजहरू रहेको जनाएको छ । उसका अनुसार रुसले एक लाख १२ हजार स्थल सेना र १८,००० जल र वायुसेना तैनाथ गरेको छ ।
पृथकतावादीको समूह
रुसी सेनाबाहेक युक्रेनको लुहान्स्क र डोनेस्क क्षेत्रमा थप १५,००० भन्दा बढी रुसी पृथकतावादीहरू रहेको अनुमान गरिएको छ । युक्रेनले यो सङ्ख्या अझै बढी रहेको हुनसक्ने आकलन गरेको छ ।
गत डिसेम्बरमा अमेरिकी गुप्तचर मूल्याङ्कनले यस्तो फौजको सङ्ख्या एक लाख ७५ हजार पुग्ने आकलन गरेको थियो । धेरै विज्ञहरूले युक्रेनमाथि पूर्ण आक्रमणका लागि रुसले अहिले भर्ती गरेकोभन्दा धेरै फौज आवश्यक पर्ने बताएका छन् ।
माथिबाट देखिने दृश्य
भूउपग्रहबाट खिचिएका तस्बिरहरूले थप सूचना दिन्छन् । सेनाको उपस्थिति कहिलेकाहीँ टेन्टको रङ्गबाट पत्ता लगाउन सकिन्छ । भरिएको टेन्टमा न्यानो हुने हुँदा तिनका छानामा हिउँ पग्लिएको हुन्छ र माथिबाट हेर्दा त्यो अलि अँध्यारो देखिन्छ ।
सैन्य क्षमता भएका गाडीहरू तिनको आकारको आधारमा पहिचान गर्न सकिन्छ । अनि जमिन वा माटोमा टायरको छापले सवारी साधनहरू चलेको सङ्केत गर्छ ।
बेलारुसमा सैन्य उपस्थिति
केही हजार रुसी सेना संयुक्त सैन्य अभ्यासका लागि बेलारुस पुगेका छन् । उक्त अभ्यास फेब्रुअरी १० देखि २० तारिखबीच उत्कर्षमा पुग्नेछ । बेलारुसका नेता अलेक्सान्डर लुकासेन्कोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गर्छन् ।
युक्रेनको राजधानी किएभ बेलारुसको सीमाबाट १५० किलोमिटरभन्दा कम दूरीमा अवस्थित छ । अलाइड रिजल्भ संयुक्त सैन्य अभ्यासले युक्रेनलक्षित अभ्यास गर्ने अवसर प्रदान गर्न सक्ने पश्चिमा पर्यवेक्षकहरू बताउँछन् ।
अनलाइन पोस्ट गरिएका तस्बिरमा सैन्य क्षमता भएका गाडीहरू, बख्तरबन्द अनि रकेट सिस्टम सहितका सेनाका सरसामान उक्त क्षेत्रतर्फ लाँदै गरिएको देखिएको दाबी गरिएको छ ।
रुसले हवाई प्रतिरक्षा प्रणाली, हातहतियार अनि चिकित्सकीय सहायतासहित आधुनिक एसयू-३५ लडाकु विमान बेलारुसमा तैनाथ गर्ने घोषणा गरेको छ ।
समुद्रमा सेना
रुसले आन्ध्रदेखि प्रशान्त महासागरसम्म विश्वभरि आफ्नो नौसेनाको अभ्यास गरिरहेको छ । यो महिना सुरु भएको उक्त अभ्यास फेब्रुअरीभरि जारी रहनेछ जसमा : १४० पानीजहाज र तिनलाई आधार दिने अन्य डुङ्गाहरू, ६० विमान र १०,००० अधिकारीहरू समाविष्ट छन् ।
युद्धमा प्रयोग हुने मुख्य बख्तरबन्द राख्न सक्ने रुसी नौसेनाका छ वटा पानीजहाज, सेना अनि सैन्य क्षमता भएका गाडीहरू इङ्ग्लिस च्यानल पार गर्दै अभ्यासका लागि भूमध्य सागरतर्फ जाँदै छन् । तर ब्ल्याक सी र युक्रेनको तट पनि उनीहरूको लक्षित गन्तव्य हुन सक्ने वा नसक्ने विषय भने अस्पष्ट छ ।




