एजेन्सी । युक्रेनमा रुसको युद्ध सुरु भएको एकसय दिन पुगेका बेला त्यहाँका राष्ट्रपतिले आफ्नो देशले गरिरहेको प्रतिरोधको प्रशंसा गरेका छन् । भोलोदिमिर जेलेन्स्कीले ‘जित हाम्रो हुनेछ’ भनेका छन् । क्रेम्लिनले चाहिँ रुसले उपलब्धि हासिल गरिरहेको बताउँदै आफ्ना उद्देश्य हासिल नहुँदासम्म पछि नहट्ने जनाएको छ ।
जेलेन्स्कीको भावुक भिडिओ
किएभमा राष्ट्रपति कार्यालय अगाडि उभिएर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रवार एउटा मार्मिक भिडियो सार्वजनिक गरे । भिडिओमा जेलेन्स्कीको आसपास युक्रेनका प्रधानमन्त्री सहित उनका केही निकट सहकर्मीहरू थिए ।
भिडिओमा उनले भने, “युक्रेनका सशस्त्र फौज समेत यहाँ छन्…हाम्रो देशका नागरिकहरू समेत यहाँ छन् । हामीले युद्धको प्रतिरोध अहिलेसम्म १०० दिन गरिसकेका छौँ । जित हाम्रो हुनेछ । युक्रेन जिन्दाबाद ।”
रुसले अतिक्रमण सुरु गरेको एक दिनपछि २५ फेब्रुअरीमा समेत जेलेन्स्कीले ठ्याक्कै त्यही ठाउँबाट उस्तैखाले भिडिओ सार्वजनिक गरेका थिए ।त्यसपछि उनले पश्चिमा देशहरूबाट उनलाई ‘उद्धार’ गरेर देशबाहिर लैजान आएको प्रस्तावलाई अस्वीकार गर्दै उनकै शब्दमा आफूलाई त्यस्तो सवारीको सहायता नभइ हतियार चाहिएको बताएका थिए । सय दिनपछि युद्ध जारी रहँदा उनी आफ्नो पदमा कायमै छन् ।
अरूले के भनेका छन् ?
यसैबिच नेटोका प्रमुख येन्स स्टोलटेनबर्गले पश्चिमा देशहरूलाई लामो यात्राको लागि तयार रहन सजग गराएका छन् । युक्रेन सङ्कटका लागि राष्ट्रसङ्घीय संयोजक अमिन अवादले ‘यस युद्धमा विजेता न अहिले कोही छ न कहिल्यै हुनेछ’ भनेका छन् ।
दक्षिण रुसको सोची शहरमा पुटिनलाई भेटेका सेनेगलका राष्ट्रपतिले युद्धले सिर्जना गरेको खाद्य अभाव बारे सोच्न भनेका छन् । अफ्रिकी सङ्घका अध्यक्ष समेत रहेका म्याकी साललाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले पुटिनले “युद्धमैदानबाट पर रहेका देशहरू पनि आर्थिक तहमा पीडित बनिरहेको बुझ्नुपर्ने ” जनाएको छ ।
क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोफले भने मस्कोले भन्ने गरेको सैन्य कारबाहीको एउटा मुख्य लक्ष्य स्वघोषित डोनेट्स्क र लुहान्स्क गणराज्यमा मानिसहरूलाई सुरक्षित राख्नु रहेको बताएका छन् ।
“उनीहरूको सुरक्षाका लागि उपायहरु चालिएका छन् र केही नतिजा हासिल भएका छन्,” पेश्कोफले भने । हालसम्म रुसी फौजहरूले युक्रेनको २० प्रतिशत भूभागमा नियन्त्रण जमाएका छन् ।
किएभमा रहेका बीबीसीका जो इनवूड भन्छन्- “यस देशले लडाइँ जित्दैमा युद्ध नजितिने कुरा सिकेको छ ।”उनी भन्छन्- “रुसीहरूले पनि यही कुरा सिकेका छन् र आफ्ना गल्ती नदोहोर्याउन प्रतिबद्ध छन् ।”






