काठमाडौं । काठमाडौं उपत्यका आज पनि विश्वको प्रदूषित सहरहरुको सूचीमा एक नम्बरमा परेको छ । काठमाडौंको वायुस्तर १ सय ९० एक्युआई मापन भएको छ । देशका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण भइरहेको हो । हिजो काठमाडौंको वायुको स्तर २ सय एक्युआइसम्म पुगेको थियो ।
हिजोको तुलना केही सुधार भएको पाइए पनि विश्वमा सबैभन्दा बढि प्रदुषण भएको शहरमा नेपाल एक नम्बरमै कायम रहेको हो । वातावरण विभागका अनुसार पहिलेभन्दा थोरै सुधार भएको तर स्वस्थकर वायुमा श्वास लिने अवस्था नरहेको जनाएको छ । हाल देशका ३७७ स्थानमा डढेलो लागि रहेको बताइएको छ ।
केही दिन अघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि अझै थपिने क्रम रोकिएको छैन धुलो, धुवाँको चापले तुवाँलोको रूप लिएर वायुमण्डलमा प्रदूषण जमिरहेको छ । जसका कारण काठमाडौंसहित देशका विभिन्न शहरमा घाम राम्रोसँग लागेको छैन् ।
पानी पर्ने सक्रिय प्रणालीको विकास भइ पानी नपरे सम्म तुवाँलो नहट्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि आज, भोलि र पर्सि देशका पहाडी भू-भागहरुमा मेघजर्गनसहित हल्का वर्षा र हावाको गति समेत बढ्ने हुँदा केहि राहत मिल्न सक्ने महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताए ।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्यून चापीय रेखाको समेत प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने र पहाडी भू–भागका थेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाका मौसमविद् अर्यालले जानकारी दिए ।
उनका अनुसार राति देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यसैबीच काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज बिहान १३ दशमलब ५ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो बढेर २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।






