एजेन्सी । श्रीलंकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयलाई कब्जामा लिएका छन् । प्रधानमन्त्री कार्यालयको गेट तोडेर प्रदर्शनकारीहरू भित्र पसेको बीबीसीले उल्लेख गरेको छ ।
प्रधानमन्त्री कार्यालयभित्र पसेका प्रदर्शनकारीहरूले खुसी मनाइरहेका छन् । कम्पाउण्डको गेटबाहिर सशस्त्र प्रहरीसँग घण्टौँ लामो झडपपछि भित्र छिर्न सफल भएका प्रदर्शनकारीहरू बार्दलीमा उभिएर हर्षोल्लासका साथ चिच्याइरहेको देखिएको अन्तर्राष्ट्रिय मिडियाहरुमा उल्लेख छ ।
प्रधानमन्त्रीको कार्यालय कब्जामा लिएका प्रदर्शनकारीले ढोल बजाएर नाराबाजी गर्दै सेल्फी खिचाउँदै खुसीयालीमा मनाएका छन् । दोस्रो तल्लाको बार्दलीमा ‘प्रधानमन्त्रीको कार्यालय’ लेखिएको माथि प्रदर्शनकारीहरुले श्रीलंकाको झण्डा फहराएका छन् ।
यस्तोमा प्रधानमन्त्री रनिल विक्रेमासिंगे भने सुरक्षित रहेको बताइएको छ । यसैबिच, श्रीलंकाको संसद्का सभामुखले राष्ट्रपति गोटाबाया राजापाक्षेले आज आफ्नो राजीनामाको आधिकारिक पत्र पठाउने बताएका छन् ।
देश बाहिर रहेका राजापाक्षेले आफूलाई फोन गरेर आज राजीनामा दिने बताएको उनले जानकारी दिएका छन् ।




