एजेन्सी । भारतमा बितेका २४ घण्टामा २० हजार भन्दा बढी कोभिड-१९ संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।
यस समयमा २० हजार ४०९ थप व्यक्तिमा कोरोना देखिएपछि भारतमा हाल कोरोना संक्रमितको संख्या ४ करोड ३९ लाखमा ७९ हजार ७ सय ३० पुगेको छ । देशभर १ लाख ४३ हजार ९ सय ८८ सक्रिय संक्रमित छन् ।
पछिल्लो एक दिनको अवधिमा १९ हजार २१६ संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त भएकाको संख्या ४ करोड ३२ लाख ८६ हजार सात सय ८७ पुगेको छ ।
कोरोना संक्रमणबाट पछिल्लो एकदिनमा ४७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ५ लाख २६ हजार २ सय ५८ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८७ करोड ४० लाखभन्दा बढीको परीक्षण गरिएको छ ।
सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड-१९ विरुद्ध खोप अभियान जारी छ । अभियान अन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ ।




