एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदालाई लक्षित गरेर ‘स्मोक बम’ प्रहार भएको छ । वाकायामा आयोजित एक कार्यक्रममा सहभागी भएको बेला किशिदामाथि ‘स्मोक बम’ प्रहार भएको हो ।
किशिदाले सम्वोधन गर्न लाग्दा बम फालिएको थियो । त्यसपछि सर्वसाधारणहरूको भाग दौड मच्चिएको थियो । प्रधानमन्त्री किशिदा भने सकुशल छन् ।
घटनास्थलबाट प्रहरीले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ । किशिदाले आफू सुरक्षित रहेको र आफू सहभागी कार्यक्रममा भएको घटनाप्रति दुख व्यक्त गरेका छन् ।
अत्यन्त सुरक्षित मानिने जापानमा भीआइपीमाथि एक वर्षको बीचमा भएको यो दोस्रो आक्रमण हो । यसअघि सन् २०२२ को जुलाइ ८ मा पूर्वप्रधामन्त्री सिञ्जो आवेलाई गोली हानी हत्या गरिएको थियो ।






