काठमाडौं । घर दैलोमा सिंहदरबारमा पुगेसँगै हरेक दिन जसो टंगालको रातो घरले विशेष अदालतमा मुद्दा दायर गर्ने सिलसिला बढ्दो छ । यसैबीच सूदुरपश्चिम प्रदेशको दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित ७ जना विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, इन्जिनियर सन्तोष पाण्डेय, नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, नगरपालिकाका सब इन्जिनियर दिपक सिंह बिष्ट, शैल्यशिखर नगरपालिका पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी र सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
०७४/०७५ र ०७५/०७६ मा पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याइ कटिङ गर्दा बढी दररेट रहेको हार्ड रक उल्लेख गरेर २६ लाख रुपैयाँ अतिरिक्त भुक्तानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार मुद्धामा डामिएका विष्ट ०७४ सालदेखि अहिलेसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन्, अहिले पनि उनी पालिकाको निमित्तकै जिम्मेवारीमा कार्यरत छन् । उनीविरूद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (ज्ञ) बमोजिम रु २६ लाख २ हजार ५५६ रुपैयाँ बिगो माग दाबी सहित मुद्दा दायर गरेको छ ।






