काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेको निष्कर्ष स्वास्थ्य मन्त्रालयले निकालेको छ । उक्त निष्कर्ष सहित चार हप्ता लकडाउन गर्न सुझाव समेत दिएको छ ।
स्वास्थ्य मन्त्रालयले उक्त सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई दिएको छ । सीसीएमसीलाई सुझाव सहित काठमाडौं उपत्यकामा चार साताको लागि लकडाउनको निर्णय गर्न आग्रह समेत गरेको छ । सीसीएमसीले भने सुझाव पाएको तर कुनै निर्णय नलिएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयबाट प्राप्त सुझावहरु आज सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको टिमले प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने छन् । प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न आज उपप्रधानमन्त्री ईश्वर पोखरेल सहित केहि मन्त्रीहरु समेत बालुवाटार जाने तयारी रहेको छ ।
सीसीएमसीको ब्रिफिङ पश्चात मात्र सरकारले आवश्यक निर्णय लिने तयारी रहेको छ । भारतमा कोरोना संक्रमणको अवस्था भयावह भएकोले गर्दा त्यसको असर नेपालमा समेत पर्ने देखिएकोले स्वास्थ्य मन्त्रालयले सतर्क रहन लकडाउन गर्नुपर्ने सुझाव दिएको हो ।






