एजेन्सी । भारतमा बाबुले १४ वर्षिया नाबालिग छोरी बलात्कार गरेका छन् । मध्यप्रदेशको देवास जिल्लामा भएको उक्त घटनापछि बाबु खेतमा मृत भेटिएको बताइन्छ ।
गत शुक्रबार राति घरभित्रै मध्यरातमा उनले सुतिरहेकी छोरीलाई बलात्कार गरेका थिए । सानो भाइसँग सुतिरहेको बेलामा जाँड खाएर आएका बाबुले उक्त हर्कत गरेका थिए ।
आमा अघिल्लो दिन राखि बाँध्न माइत गएकी थिइन् । आमा नभएको मौका छोपेर उनले १० कक्षामा अध्ययनरत छोरीमाथि उक्त अमानवीय कार्य गरेका थिए ।
भोलिपल्ट बालिकाले नातेदारहरुलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । मामाघरका हजुरबा र काका बालिका लिएर उजुरी दर्ता गर्न खाटेगाउँ प्रहरी कार्यालय पुगेका थिए ।
उक्त घटना अन्य कसैलाई भनेमा बाबुले आफूले आत्महत्या गर्ने धम्की दिएको प्रहरी कार्यालयमा बालिकाले बताएकी थिइन् । प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएको करिब ७ घण्टापछि बाबु खेतमा मृत फेला परेका थिए ।
उनी जाँडले मातेपछि खेतमा गएर सुतेका थिए । सोही क्रममा सिचाइँको लागि प्रयोग गरिएको बिजुलीको तारमा परेर उनको ज्यान गएको प्रहरीले अनुमान गरेको छ ।






