काठमाडौं । कोरोनाका हटस्पट बनेको मुलुककै राजधानी काठमाडौंमा १६०२ जनामा कोरोना भाइरस संक्रमित भेटिएको छ । यो तथ्य बितेको २४ घण्टामा भित्रको हो । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ललितपुरमा २४० र भक्तपुरमा १२४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
यस्तै, बाँकेमा पनि ५१५ जनामा देखिएको छ । यता, रुपन्देहीमा ३८३ जनामा संक्रमण पुष्टि भएको छ । अर्को हटस्पट बन्दै दाङमा २३० जनामा संक्रमण देखिएको छ । कोरोना भाइरस व्यापक फैलिरहँदा यी क्षेत्रहरु काठमाडौं, ललितपुर, बाँके, नेपालगञ्ज, रुपन्देही, दाङ लगायत क्षेत्रहरु बढि कोरोनाको हटस्पट बन्दै गएको देखिन्छ ।
सरकारले आवश्यक काम नपरी बाहिर नहिड्न आग्रह गरेको छ । मुलुकमा २४ घण्टामा ४५ सय बढीमा कोरोना भाइरस भएका मानिसहरु फेला परे । पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको हो, एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा थप १८ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।






