सर्लाही । कोभिड-१९ को नयाँ लहरले सबैलाई त्रसित बनाएको बेला बन्द भएका क्वारेन्टाइन सेन्टर धमाधम सञ्चालनमा आउन थालेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित बन्द आइसोलेसन केन्द्रलाई संञ्चालनमा ल्याउने तयारी गरिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनुभयो ।
यसअघि अस्थायी केन्द्रको रुपमा संञ्चालित केन्द्र प्रयोग विहिन अवस्थामा भएकोले मर्मत सम्भार र सरसफाई गरी जनशक्तिको व्यावस्थापन गरि सञ्चालनमा ल्याउने तयारी गरिएको नगर प्रमुख खड्काले बताउनु भयो । सो आईसोलेसनमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको टोली खटिने नगरपालिकाले जनाएको छ ।
त्यसैगरी जोखिम क्षेत्रबाट आएकाहरू होम आइसोलेसनमा वसे नवसेको निगरानि पनि गरिने छ । यस अघि पनि जिल्लाकै सुविधा सम्पन्न आइसोलेसनको रुपमा रहेको लालबन्दी नगरपालिका १ को आइसोलेसन व्यावस्थापनमा नगरपालिका जिम्मेवार भएर लाग्ने नगर उप प्रमुख शान्ती लामाले बताउनु भयो ।
कृषि सामाग्री कम्पनी लिमिटेडको भवनमा तयार पारिएको आइसोलेसन पुन: सञ्चलनको तयारीका लागि बिहीबार नगरका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले अनुगमन गरि आवश्यक परेको खण्डमा सञ्चालन गर्न सक्ने गरि तयारी अवस्थामा राख्ने तयारी गरेको छ ।






