महोत्तरी । महोत्तरीमा बोक्सीको आरोपमा सिंगो परिवार नै कुटिएको छ । महोत्तरीको गौशाला नगरपालिका ११ लक्ष्मीनियाका राजेन्द्र रामसहित उनका परिवारका सदस्य छिमेकबाट बोक्सी आरोपमा कुटिएका हुन् ।
कुटपिटबाट उनकी श्रीमती ६५ वर्षीया इतरिया देवी, छोराहरू देवेन्द्र राम र सुरेन्द्र राम, बुहारीहरू सम्तोलियादेवी, सुन्दर देवी र भान्जी कृष्णी कुमारी घाइते भएका हुन् ।
गत बुधबार उनीहरुमाथि कुटपिट भएको महोत्तरी प्रहरीले जनाएको छ । छिमेकी सन्तोष यादव, विनोद पासवान र केवल महतो नुनियाका परिवारले सुरेन्द्रका परिवारका सदस्यमाथि कुटपिट गरेका हुन् ।
कुटपिटबाट इतारिया देवीको टाउको फुटेको छ भने बायाँ हात मर्केको छ । उनको जनकपुरधामस्थित सहयोग हस्पिटलमा उपचार भइरहेको छ । परिवारका अन्य सदस्यहरु समान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घटनापछि कुटपिटमा संलग्न झाँक्रीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्तोष यादव र झाँक्री विनोद पासवान रहेका छन् । यस्तै अन्य दुई जना फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको छ ।
प्रहरीका अनुसार चार जनाविरुद्ध बोक्सी आरोपमा कुटपिट गरेको मुद्दामा अनुसन्धान भइरहेको छ । पक्राउ परेका दुई जनालाई हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिइसकेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएको छ ।




