वीरगंज । चाडपर्वलक्षित प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सवारी साधनहरूको चेकजाँचमा तीव्रता ल्याएपनि यसमा प्रहरीले अवैधरूपमा रकम असुली गरिरहेको आरोप लागेको छ ।
दशैंपछि दीपावली र छठलाई लक्षित गरेर सवारी दुर्घटना न्यूनीकरणका लागि अहिले पोखरिया नगरपालिका र बहुदरमाई नपाको बहुअर्वाभाठा तथा वीरगंज महानगर अन्तर्गत तिलावे पुलमा ट्राफिक प्रहरी खटिएका छन् ।
उनीहरूले सवारीसाधनमा तोकिएभन्दा बढी मानिस सवार भएकामा रोक्ने, कागजपत्र चेकजाँच गर्ने जस्ता ट्राफिक नियम पालना गराउँदै आएका छन् । यसै क्रममा उनीहरूले नियम उल्लङ्घन गर्नेलाई जरिवाना गरेर राजस्व दाखिला गर्नुपर्नेमा सो कार्य नगरेको पाइएको छ ।
यो क्षेत्रबाट मोटरसाइकल, अटोरिक्शा, ईरिक्शाहरू अत्यधिक मात्रामा सञ्चालन हुन्छन् । त्यसमध्ये धेरै जनासँग सवारीचालक अनुमतिपत्र, सवारीधनीपत्र नरहेकामा त्यस्तालाई दण्ड, जरिवाना गर्दा रसीद नकाटेर नगद लिने गरिएको आरोप छ ।
सवारी नियम पालना नगरेका कारण सवारी दुर्घटनामा वृद्धि भएपछि अहिले पर्साका केही ठाउँमा ट्राफिक प्रहरी परिचालन गरिए पनि अवैधरूपमा रकम असुली गर्ने विकृति मौलाएको सरोकारवालाहरूले गुनासा गरेका छन् ।
इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्ष्ँक मोहन विक्रम केसीले अवैधरूपमा रकम असुलीको बारेमा आफूसमक्ष गुनासो नआएको र यस बारेमा अनुसन्धान गरिने र दोषी देखिए कारबाई हुने बताए ।




