काठमाडौं । निजगढ नगरपालिका सिंगौलस्थित धन्सार खोलाबाट ढुङ्गा चोरी गरिरहेको अवस्थामा गत बिहिबार ढुङ्गालोड ट्याक्टर सहित चार जना पक्राउ परे । पक्राउ पर्नेमा निजगढ नगरपालिका १ सिंगौलका ट्याक्टर चालक २० वर्षीय समीर धामी, वर्ष १७ को सन्नी धामी, वर्ष १७ को सिद्धान्त धामी र वर्ष २७ को शेष चौधरी रहेको डिभिजन वन कार्यालय सिमरा बाराले जनाएको छ ।
वन क्षेत्रको धन्सार खोलाबाट इजाजतविना ढुङ्गा झिक्दै प्रदेश २–०३–००१ त ९२२ नम्बरको ट्याक्टरमा धमाधम लोड गरिरहेको अवस्थामा निजगढ सबडिभिजन वन कार्यालय भमरामा प्रमुख एवम् वन अधिकृत रघुनाथ दासको नेतृत्वमा गएको वन सुरक्षा टोली र सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन सुरक्षा बेस निजगढका सशस्त्र प्रहरीको संयुक्त टोलीले घेरा हाली उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरूले पेशेवररूपमा दैनिक खोलाबाट ढुङ्गा झिक्ने, थुपार्ने र बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । पक्राउ परेको ट्याक्टर निजगढ सब डिभिजन वन कार्यालय भमरामा रहेपनि उनीहरूलाई भने, डिवका सिमराको थुनुवा कोठामा राखिएको छ । यसरी सिंगौलको धन्सार खोला, बगर खोलाबाट ढुङ्गा चोरी गर्दै वन क्षेत्र र अन्य स्थानमा ३ सय ट्याक्टरभन्दा बढी थुपारेर राखिएको स्रोतले जनाएको छ ।
यस्तै वीरगंज महानगरपालिका अन्तर्गत पर्ने भेडाहा खोलाबाट अवैधरूपमा चोरी तस्करीको गिट्टी बालुवाको उत्खनन अझै रोकिएको छैन । भेडाहा खोलाबाट आज बिहान मात्र प्रहरी टोलीले वैधरूपमा गिट्टी, बालुवा लोड गर्दै गरेको अवस्थामा दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
मिलनचोक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रमोदसाह तेलीको नेतृत्वमा खटेको प्रहरी टोलीले गिट्टी, बालुवा लोड गर्दै गर्दा ना ७ त ६२७८ र ना ७ त ३७७२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो । दुवै टयाक्टरलाई मिलनचोक प्रहरी चौकीमा राखिएको छ ।
बिहिबार मात्र प्रहरीले भेडाहा खोलाबाट गिट्टी बालुवा लोड गरेको पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । जनही पाँच हजार जरिवाना पर्सागढी नगरपालिका राजस्व कार्यालयमा तिरेर बालुवा प्रहरी चौकी मिलनचोकमा झार्न लगाई आइन्दा तस्करी नगर्ने शर्तमा छाडिएको थियो ।




