वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका ५ निचुटा गाउँ बस्ने २० वर्षीय पुलेमन मुखियालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १३ मिलिग्राम, चरेश जस्तो देखिने पदार्थ १४ ग्राम ४७ मिलिग्राम, सेतो पदार्थ १ ग्राम ९४ मिलिग्राम, डिजिटल तराजु १ थान र २९ हजार ७० भारतीय रूपैयाँसहित बिहिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी वीरगंज महानगरपालिका २१ हनुमान चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५ ग्रामसहित वीरगंज महानगरपालिका २१ परवानीपुर बस्ने ३० वर्षीया फुलसन खातुनलाई बिहिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






