बीबीसी । पाकिस्तानमा बिहिबार भएको आम निर्वाचनमा व्यापक धाँधली भएको भन्दै त्यसको नतिजालाई चुनौति दिन त्यहाँका अदालतहरूमा व्यापक उजुरीहरू परेका छन् ।
हाल जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ पार्टी (पीटीआई) ले समर्थन गरेका उम्मेदवारहरूले मतदानमा धाँधली भएको आरोप लगाएका छन् ।
चुनावी नतिजा र त्यसपछिको राजनीतिक परिस्थितिलाई लिएर उक्त दलले शान्तिपूर्ण प्रदर्शनको आह्वानसमेत गरेको छ । इमरान खानको दलले पाकिस्तानको निर्वाचन आयोग र अन्य सरकारी भवनबाहिर शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेको हो ।
जेलमा रहेका खानलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न रोक लगाइएको थियो । उनको दलको समर्थन पाएका धेरै स्वतन्त्र उम्मेदवारहरूले चुनाव जितेका छन् ।
चुनाव जितेको दाबी
जेलबाटै खानले आफ्नो दलले चुनाव जितेको घोषणा गरेका छन् भने उनका प्रतिद्वन्द्वी नवाज शरिफले पनि जितको दाबी गरेका छन् । हालसम्मको चुनावी नतिजाले खानको दलले समर्थन गरेका उम्मेदवारले धेरै स्थानमा जितेको देखाएको छ ।
चुनावमा धाँधली भएको भन्ने खानको दलको आरोपलाई पाकिस्तानी अधिकारीहरूले भने अस्वीकार गरेका छन् । पीटीआईले मात्र नभइ पाकिस्तानका कतिपय धार्मिक दलहरूले पनि चुनावमा धाँधली भएको आरोप लगाउँदै विरोध प्रदर्शनको आह्वान गरेका छन् ।
जमात-ए-इस्लामीले कराची सहरका विभिन्न ८ स्थानमा प्रदर्शन गर्ने जनाएको छ । उसले जनमतको अपमान गर्न नदिने जनाएको छ । जमीयत उलेमा-ए-इस्लाम ले पनि चुनावमा धाँधलीको आरोप लगाएको छ । यो समूहले सिन्ध प्रान्तका २८ स्थानमा प्रदर्शनको आह्वान गर्दै राष्ट्रिय राजमार्गमा चक्काजामको गर्ने जनाएको छ ।
चुनावी नतिजा
पाकिस्तानको निर्वाचन आयोगले न्याशनल असेम्ब्लीका कुल २६५ सीटमध्ये २५७ सीटको नतिजा घोषणा गरेको छ । उसले बलुचिस्तानका सात क्षेत्रको नतिजा भने सार्वजनिक गर्न बाँकी छ ।
हालसम्मको नतिजा अनुसार खानको दल समर्थित उम्मेदवारहरू ९३ सीटमा विजयी भएका छन् । नवाज शरिफको दल मुस्लिम लिग-एनले ७४ सीटमा चुनाव जितेको छ भने बिलावल भुट्टो जरदारीको दल पाकिस्तान पिपुल्स पार्टीले ५४ सीटमा विजय हासिल गरेको छ ।
एमक्यूएमले १७ सीटमा चुनाव जितेको छ भने पाकिस्तान मुस्लिम लिग र जमीयत उलेमा-ए-इस्लामले तीन-तीन सीटमा विजय हासिल गरेका छन् ।
सरकार बनाउने कसरतमा दलहरू
इमरान खानको दल पीटीआईले जितको दाबी गरिरहेका बेला नवाज शरिफको दलसहित अन्य दलहरू मिलेर सरकार गठनको प्रयासलाई तीव्र पारेको खबर आएको छ । त्यसै क्रममा पछिल्लो पटक एमक्यूएम पार्टीका प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री नवाज शरिफसँग भेट गरेको बीबीसी उर्दूले जनाएको छ ।
शरिफको दल पाकिस्तान मुस्लिम लिग-एनका प्रवक्ता तथा पूर्वमन्त्री मरियम औरङ्गजेबले एमक्यूएम नेताहरूले नवाज शरिफलाई भेटेको जनाएका छन् । इमरान खानको दलका अध्यक्ष गौहर अलि खानले आफ्नो दलसँग बहुमत भएका कारण देशका सबै संस्थाले त्यसलाई स्वीकार्नु पर्ने बताएका छन् ।
शरिफको दलका प्रवक्ताले पनि आफ्नो सरकार बनाउनका लागि उनको दलले भुट्टोको पार्टीसँग कुराकानी गर्ने बताएका छन् । उनले जियो न्यूजसँग त्यसका लागि सुरुवाती चरणको कुराकानी भएको बताएका थिए ।
उनले इमरान खानको दलसँग सत्ता साझेदारीको सम्भावना भने नरहेको बताएका छन् । त्यसअघि बिलावल भुट्टोले चाहिँ सरकार बनाउने विषयमा कुनै पनि दलसँग कुराकानी नभएको बताएका थिए ।






