बारा । बारा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिकाबाट तीन र निजगढ नगरपालिकाबाट एक जनालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगन्जमा चेकजाँच गर्ने क्रममा हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको बिआर ०५ एए ४२८५ नम्बरको भारतीय कारको पछाडिको भागमा बक्स बनाई लुकाइछिपाई राखेको सय एमएलको १० थान वानरेक्स लागुऔषध र गाडी नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका ४ घर भएका २० वर्षीय राजेश्वर साह, पर्सा वीरगन्ज महानगरपालिका १७ घर भएका ३५ वर्षीय अमरुलाहक अन्सारी र सोही स्थानका ३५ वर्षीय शेख फजिल रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यस्तै निजगढ नगरपालिका ८ बाट साइकल डोहोर्याउँदै आएका निजगढ नगरपालिका ८ स्थित खैरघारी निवासी २८ वर्षीय सरोज दोङबाट डाइजापाम १५ पिस, फेनारगन ११ पिस, नोफिन १५ पिस र सिरिन्ज ३ पिससहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको बारा प्रहरीले जनाएको छ ।




